


चितवन,३१चैत।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन्। आइतबार गृहजिल्ला चितवनमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले केही नयाँ अनुभवको आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने देखिएको बताए।
‘मैले त विश्वासको मत लिँदादेखि नै सही कुरा के हो भने सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने सही कुरा हो त्यतिबेला भनेको हो। अहिले पछिल्लो चोटी भन्दा थुप्रै घटनाक्रमहरु नयाँ भए’,उनले भने,‘केही नयाँ अनुभवसहित भनेको हो। अहिले मलाई धेरै त्यो भन्दा बढी बोल्न नलगाउँदा राम्रो । केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो। मलाई लाग्छ त्यही दिशातिर देश जान्छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूहरुको ध्यान सरकारतिर नरहेपनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अघि बढ्न सहज छैन भन्ने कुरा परिस्थितिले देखाइरहेको बताए। वर्तमान सरकारविरुद्ध चौतर्फी आक्रोश, आवेग र असन्तुष्टि जनतामा बढ्दै गएको उनले बताए ।

