


भैरहवा, ४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नरमा पार्टीमा नभई बिचौलियाको बीचमा भागबण्डा नमिलेको आरोप लगाएका छन्।
बिहीबार तराई मधेस जागरण अभियान अन्तर्गत भैरहवा पुगेका उनले प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा कुन बिचौलिया समूहको गभर्नर हुने भन्ने कुरा टुङ्गिन नसकेकाले नियुक्ति हुन ढिलाई भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले राम्रो काम गर्ने कर्मचारीलाई अपमानित गरेर निकाल्ने र आफूले भनेको काम गर्ने कर्मचारीलाई राजनीतिक भर्ती गर्न लागेको उल्लेख गरे।
‘बिचौलियाहरुले कहिले कांग्रेसलाई पक्रेका छन्, कहिले एमालेलाई पक्रेका छन् । गभर्नर जस्तो पद देशको अर्थतन्त्रलाई नियमन गर्ने, नियमित गर्ने, सन्तुलित बनाउने महत्त्वपूर्ण, संवेदनशील ठाउँ हो। हामीले गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल बन्द गर भनेका छौं । योग्य व्यक्तिलाई गभर्नर नियुक्ति गर्न भनेका हौँ,’ उनले भने।
उनले बिचौलियाको स्वार्थ अनुरुप गभर्नर नियुक्ति गर्ने प्रक्रिया बन्द गर्न सरकारसँग आग्रह गरे। ‘जसरी लोडसेडिङको अन्त्य गर्न कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि एउटा परिणाम निकालिएको थियो। त्यसरी नै गभर्नर नियुक्ति हुनुपर्यो ।’
अहिले अर्थतन्त्रमा देखिएको सबै समस्या समाधानको लागि सरकारले गम्भीर पहल गर्नुपर्ने उनको भनाई छ ।

