
भैरहवा, ४ वैशाख। मुलुकमा अस्वभाविक रुपमा मूल्यवृद्धि भइरहेको नागरिकको गुनासोपछि अवस्थाबारे अध्ययनका लागि संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति भैरहवा पुगेको छ। समिति लुम्बिनी प्रदेशमा उद्योग, वाणिज्यको अवस्था तथा मूल्यवृद्धिको अध्ययन गरेर आवश्यक कदमका लागि सरकारलाई प्रतिवेदन बुझाउने छ ।
समितिले बुधबार लुम्बिनी प्रदेशका विषयगत समितिसँग यस क्षेत्रका उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ताको अवस्थाबारे छलफल गरेको छ। त्यस्तै बिहीबार बुटवलमा उद्योगी–व्यवसायीसँग छलफल गरेको छ ।
Advertisement

Advertisement
Advertisement

समितिका सभापति एवं पूर्वमन्त्री अब्दुल खानले खासगरी पछिल्लो समय डण्डी (छड्) लगायत मा अस्वभाविक रुपमा मूल्यवृद्धिप्रति धेरैको चासो रहेको र समितिले त्यसबारे अध्ययन गरी सरकारलाई यर्थात् जानकारी गराउने बताए ।
पाँचदिने स्थलगत अध्ययनको लागि पाँचजना सांसद् र उपभोक्ता अधिकारकर्मीसहित समिति स्थलगत अध्ययनको लागि भैरहवा आएको हो । टोलीमा समितिका सदस्य एवं सांसद् रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, हेम राज राई, रणेन्द्र बराली, रेखा यादव, रुक्मणी राना बराइली, गणेश पराजुली र उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन रहेका छन् ।
समितिले यस क्षेत्रमा रहेका भन्सार, बुटवल धागो कारखाना, विशेष आर्थिक क्षेत्र (सेज), डण्डी लगायत उद्योगहरु स्थलगत अनुगमन गर्ने तालिका छ । स्थलगत अनुगमन एवं सरोकारवालाहरुसँग छलफल गरी समस्याको जड पत्ता लगाई समाधानका उपायसहित सरकारलाई प्रतिवेदन बुझाउने समितिका सभापति खानले जानकारी दिए ।

यसैबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) एवं सविधानसभा सदस्य इश्तियाक अहमद खाँले बिहीबार समितिसँग भेट गरी यस क्षेत्रमा रहेका उद्योग, वाणिज्य, श्रम तथा मूल्यवृद्धिका कारण उपभोक्तामा परेको असरबारे जानकारी गराएका छन्। उनले पछिल्लो समय अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताहरु मरमा परेको उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रणका लागि संघीय सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।

