


भैरहवा, ९ वैशाख। पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको समूहले गरेको दुव्र्यहारको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ ।
समाचार संकलनका क्रममा रुपन्देहीको मर्चवार जाँदै गरेका पत्रकार विश्वकर्माले मायादेवी गाउँपालिका–६ स्थित मकरीमा तस्करी भइरहेको भिडियो खिच्ने क्रममा दीपेश यादव नेतृत्वको तस्करको समूहले दुव्र्यहार गरेको थियो। पत्रकार विश्वकर्मा एपी वान टेलिभिजनका लुम्बिनी प्रदेश ब्यूरो प्रमुख हुन्।

राष्ट्रिय मानव अधिकार आयोग बुटवल कार्यालयका मानव अधिकार अधिकृत आशिष श्रेष्ठको नेतृत्वको टोलीले घटनाबारे जानकारी लिएको विश्वकर्माले बताए।
संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा भइरहेको तस्करीको भीडियो छाँयाकन गर्दा तस्करको समूहले घेरा हालेर धम्क्याउँदै क्यामेरा खोस्ने, झोला खानतलासी गर्ने, सवारी साधनको साँचो कब्जामा लिएर दुव्र्यहार गरेका थिए।

