
भैरहवा, ९ वैशाख। रुपन्देहीको मर्चवारमा समाचार संकलनका लागि जाने क्रममा पत्रकारलाई दुव्र्यहार गर्नेहरुलाई कारवाहीको माग गरिएको छ। मंगलबार लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघ रुपन्देहीले छुट्टाछुट्टै रुपमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै घटनामा संग्लनहरुलाई पक्राउ गरेर कारवाहीको माग गरेका हुन्।
सोमबार संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा भइरहेको तस्करीको भीडियो छाँयाकन गर्दा दीपेश यादव नेतृत्वको तस्करको समूहले घेरा हालेर धम्क्याउँदै क्यामेरा खोस्ने, झोला खानतलासी गर्ने, सवारी साधनको साँचो कब्जामा लिएर दुव्र्यहार गरेका थिए। पत्रकार विश्वकर्मा एपी वान टेलिभिजनमा कार्यरत छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै यस घटनाले प्रेस स्वतन्त्रता मात्र नभइ मानवअधिकार समेत कुण्ठित भएको आफूहरुको ठम्याई रहेको बताए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारले खिचेका भिडियो डिलिट गर्ने कार्य पत्रकारिता पेशाप्रतिको अपमान भएको भन्दै सुरक्षा निकाय गम्भिर बन्नुपर्ने बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले घटनामा संलग्न तस्करहरुको समूहलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरे। घटनामा संलग्न पक्राउ गरिएका दीपेश यादवलाई भगाउन सहयोग गर्ने प्रहरी अधिकारीहरुमाथि पनि छानबीन गरी कारवाही गर्नुपर्ने उनको भनाई छ।
लुम्बिनी प्रेस क्लबले घटनामा संलग्न व्यक्तिहरुलाई २४ घण्टामा पक्राउ/कारवाही नभए चरणबद्ध आन्दोलनमा जाने अल्टिमेटम दिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारको सुरक्षालाई गम्भिरतापूर्वक लिएको बताए। उनले घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गर्ने भन्दै पत्रकारले खिचेका भिडियो हटाउन लगाउने कार्यमा संलग्न व्यक्ति उपर कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले घटनामा संग्लन व्यक्तिहरुको खोजी भइरहेको बताए।

