


काठमाडौं,९बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसमेत तीनजनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
आयोगले पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, लेखापाल हासिम मियाँ अन्सारी र केएस मल्टिप्रपोज तथा उक्त कम्पनीका अध्यक्ष कमल कुमार उपाध्यायविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरु विरुद्ध सार्वजनिक ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिता गरेको उजुरी परेको थियो।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल मियाँले नगरपालिकाबाट आर्थिक वर्ष ०७७/०७८ मा सञ्चालन भएका ठेक्काहरुको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी झुटा विवरणसहितको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी दिएको खुल्न आएपछि उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
उपाध्याय समेतको मिलेमतोमा नगरपालिकाको ठेक्काको अभिलेखमा राख्ने प्रयोजनार्थ मात्रै एकप्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरी नगरपालिकामा पेश गर्न लगाइ सोही झुट्टा विवरणसहितको पत्रिकाको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ केएस मल्टिप्रपोज प्राइभेट लिमिटेडलाई भुक्तानी दिएको पाइएको अख्तियारको ठहर छ।
उनीहरुविरुद्ध सोही रकम बराबरको विगो दावी र सजाय माग गरिएको आरोप पत्रमा उल्लेख छ।

