
भैरहवा, ११ बैशाख। न्यायको माग गर्दै रुपन्देहीका पत्रकारहरु बिहिबार देखि आन्दोलित भएका छन्। यस अघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा २४ घण्टे अल्टिमेटम दिदै पत्रकारहरुले आरोपीलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन माग गरेका थिए।
आफ्नो मागहरुबारे प्रशासन गम्भिर नभएको आरोप लगाउदै भैरहवा स्थित लुम्बिनी प्रेस क्लबले चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा एक घण्टा धर्ना प्रदर्शन गरेको छ ।
Advertisement

Advertisement
Advertisement

पहिलो चरणको आन्दोलन अन्र्तगत पहिलो दिन धर्ना दिने, दोश्रो दिन सबै पत्रकार धर्ना दिनुको साथै हातमा कालो पट्टि बाँधेर काम गर्ने र तेश्रो दिन आईतबार सञ्चार सामाग्री प्रदर्शनसहित धर्ना दिने कार्यक्रम तय गरिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिए। पहिलो चरण आन्दोलन अन्र्तगत पनि प्रशासनले माग पुरा नगरे सोमबार देखि अझ शसक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने रायमाझीले बताए।
यसैबीच नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माले रुपन्देहीको पत्रकारहरुको आन्दोलन केन्द्रिय समितिको आन्दोलनको रुपमा रहेको बताइन। उनले आरोपी पक्राउ नपरे सम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने र आवश्यक परे यसलाई केन्द्रसम्मै पुर्याइने बताइन। ‘आज लोकतन्त्र दिवस समेत हो, यो दिन एउटा पत्रकारको न्यायको लागि जिल्ला प्रशासन कार्यालयमा उभिनु दुखद हो’, उनले भनिन, ‘अहिले हामी सुरेश रजकको न्यायको लागि पनि आन्दोलनमा छौं त्यस्तो अवस्थामा पत्रकारमाथी आक्रमण गर्ने पक्राउ नपरे यसले आन्दोलनको अर्को रुप लिनेमा सचेत गराउन चाहन्छु।’
उनले पत्रकारको फुटेज डिलिट गराउनु पत्रकारले मिडियामा दिने कन्टेन्ट नै असर पर्ने हुँदा उक्त विषय सामान्य नभएको उनको जिकिर थियो ।
यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले प्रहरीकै उपस्थितिमा भिडियो डिलिट गर्न लगाउनु र हिरासतबाटै तस्कर भगाउनुले प्रहरी र तस्करको सम्बन्धबारे स्पष्ट पारेको बताए। उनले आरोपीलाई पक्राउ गरि कारवाही गर्नु नै पत्रकारहरुको एकसुत्रिय माग रहेको स्पष्ट पारे ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रशासनले यो घटनालाई गम्भिरतापूर्वक लिएको बताए। उनले लापारवाही गर्ने प्रहरी अधिकृतहरुलाई स्पष्टिकरण सोधिएको र आरोपीलाई पक्राउ गर्न पक्राउ पूर्जी समेत जारी भइसकेको बताए। ‘आरोपी भारतमा गएर लुकेका छन्, हामीले भारतीय प्रहरीसंग समन्वय गरि पक्राउ गर्न टोलीहरु खटाएका छौं’, उनले भने, ‘घटनालाई किनारा लगाउन हामीले कुनै प्रकारको ढिलाई गरेका छैनौं।’
उनले प्रहरी हिरासतबाट आरोपी भाग्नुले प्रहरीको कमजोरी देखिएकोले यसमा दोषी देखिने प्रहरीलाई पनि कारवाही गर्ने आश्वासन दिए।
गत सोमबार एपी वान टेलिभिजनमा कार्यरत पत्रकार राधेश्याम विश्वकर्मा संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा भइरहेको तस्करीको भीडियो छाँयाकन गर्दा दीपेश यादव नेतृत्वको तस्करको समूहले घेरा हालेर धम्क्याउँदै क्यामेरा खोस्ने, झोला खानतलासी गर्ने, सवारी साधनको साँचो कब्जामा लिएर दुव्र्यहार गरेका थिए।
घटना पश्चात पक्राउ परेका दीपेश यादव इप्रका मझगाँवाको प्रहरी नियन्त्रणबाटै फरार भएका थिए। सोही विषयलाई लिएर बुधवार बसेको लुम्बिनी प्रेस क्लबको बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो। क्लबको आन्दोलनमा नेपाल पत्रकार महासंघ, केन्द्रिय समिति लगायत विभिन्न पेशागत संग संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

