


भैरहवा,११बैशाख। मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ।
तराईमा गर्मी बढेसँगै तातो हावा चल्न थालेको छ । तराईका केही जिल्लामा आज (बिहीबार) र शुक्रबार तातो हावा चल्ने मौसमविद्हरुको पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटन निकालेर तातो हावा चल्ने भएकोले सतर्क रहन सुझाव दिएको छ। लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा अत्यधिक गर्मी छ। ती जिल्लामा तातो हावा चल्ने मौसमविद्हरुले चेतावनी दिएका हुन् ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कसरी सुरक्षित रहने ?
तातो हावाको लहरले मानव शरीरमा विभिन्न समस्या देखिन्छ। थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, बान्ता आउने हुनसक्छ। त्यसैले यस्ता समस्याबाट बच्न सतर्क रहन मौसमविद्को सुझाव छ।
यस्तो बेलामा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउनु पर्छ। स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ।

