
लुम्बिनी,१३बैशाख। प्रागऐतिहासिक व्यक्तित्वबाट नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ बन्दै गइरहेको विज्ञहरुले बताएका छन्। अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग जस्ता व्यक्तित्वका कारण नेपाल र चीनबीच कलात्मक सम्बन्ध शसक्त बनेको उनीहरुले बताए।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा शनिबारदेखि सुरु भएको नेपाल–चीन बौद्ध संस्कृति र कला विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै विज्ञहरुले बुद्ध कला, दर्शन र संस्कृतिले आधुनिक समयमा नेपाल चीन सम्बन्धलाई अझ मजबुद बनाएको बताए।
Advertisement

Advertisement
Advertisement

गोष्ठीको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताए ।लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवद्र्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा सेमिनार आयोजना गरिएको छ ।
‘लुम्बिनी केवल नेपालको गहना मात्र होइन, यो विश्व शान्ति र बौद्ध दर्शनको स्रोत हो’,उनले भने–‘बुद्धले यही भूमी लुम्बिनीबाट विश्वलाई शान्ति, बन्धुत्व, अहिंसा, करुणा र समानताको सन्देश दिनुभएको हो।’ नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक सन्दर्भमा पुनर्जिवित गर्दै सांस्कृतिक, आर्थिक र बौद्धिक सहकार्यको नयाँ अध्याय लेख्ने प्रयत्न आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले जोड दिए।
चीनको आर्थिक विकासको प्रशंसा गर्दै उनले नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठूलो फाइदा लिन सक्ने बताए। विशेषगरी, लुम्बिनीलाई विश्व शान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उनले उल्लेख गरे।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले बुद्ध दर्शनले नेपाल र चीनबीच प्राज्ञिक सम्बन्धलाई जोड्दै गइरहेको बताए। उनले बौद्ध शिक्षाका उच्चतहको अध्ययनमा चीनका विश्वविद्यालय र नेपालका विश्वविद्यालयबीच सम्बन्ध सहकार्य बढ्दै गएको जनाए। ‘चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक सम्बन्ध शसक्त रुपमा अघि बढिरहेको छ, यो सेमिनार त्यसैको एउटा निरन्तरता हो’, उनले भने।
सेमिनार केवल बौद्धिक विमर्शको मञ्च मात्र होइन, नेपाल र चीनबीचको मित्रता, सहकार्य र सांस्कृतिक एकताको उत्सव पनि रहेको उनले बताए। चिनियाँ संस्कृति प्रवद्र्धन सोसाइटीका निर्देशक प्राध्यापक क्वान वोइङले फाहियानको भ्रमणले नै बुद्धस्थल र ग्रन्थहरुको पहिचान गर्न सकेको बताउँदै लुम्बिनी र नेपालका लागि यो महत्वपूर्ण रहेको बताए। संस्कृति आदान प्रदानमा अरनिकोको योगदान चीन भुल्न नसक्ने उनको भनाई थियो।
चिनियाँ प्रोफेसर सोय युले चीन र नेपालबीचको सम्बन्ध परम्परादेखि नै रहेको बताए। ‘चीन नेपाल सम्बन्ध अहिलेको होइन, यो निकै मजबुद छ’, उनले भने। चिनियाँ संस्कृति प्रवद्र्धन सोसाइटीका उपाध्यक्ष छङ गाङ्गले बौद्ध दर्शनको कला संस्कृतिको प्रवद्र्धनमा चीन र नेपालले संयुक्त रुपमा काम गर्नुपर्ने बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन, चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीको सहकार्यमा सेमिनार आयोजना भएको हो ।
सेमिनारमा दुई दिनमा ४० वटा कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डा. सागर न्यौपानेले जानकारी दिए। बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर कार्यपत्र प्रस्तुत भइरहेको न्यौपानेको भनाई छ।

