


काठमाडौं,१५बैशाख। आन्दोलनरत शिक्षकहरुले नेकपा एकीकृत समाजवादीका नेताहरुलाई आन्दोलनस्थलबाट फर्काएका छन् । नेपाल शिक्षक महासंघको आन्दोलनमा सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु ऐक्यबद्धता जनाउनका लागि पुगेका थिए।
शिक्षकहरूले उल्टै नेताहरुविरुद्ध नाराबाजी गरेपछि उनीहरु मन्तव्य नै नराखी फर्किनुपरेको छ। उनीहरुले आफूहरूको आन्दोलनलाई राजनीतिकरण हुन नदिने भन्दै नेताहरुलाई फर्किन सुझाव दिएका थिए।

आफूहरुलाई समर्थन गर्न बानेश्वर आउनुभन्दा संसदबाट ऐन पारितका लागि पहल गर्न आग्रह गरेका छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने शिक्षकहरूले सोमबार २७ औं दिन पनि आन्दोलनलाई जारी राखेका हुन्।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी शिक्षा ऐन जारी हुने परिस्थिति नबनेसम्म आन्दोलन नरोकिने स्पष्ट पारे। मन्त्रीस्तरीय निर्णय, मन्त्रिपरिषद् निर्णय र ऐन कानुनबाट पुरा हुने गरी आफूहरुको माग सरकारलाई बुझाइएको उनले बताए। उनले आफूहरुको मागमा सरकार गम्भीर नभएकाले आन्दोलन लम्बिएको आरोप लगाए।
अध्यक्ष सुवेदीले विद्यालय शिक्षाप्रति सरकारको उदासीनता देखिएको उल्लेख गरे। यसअघि शिक्षकहरुको प्रदर्शनका क्रममा आइतबार झडप भएको थियो।

