


पोखरा, १९ बैशाख। नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय समितिको आगामी निर्वाचनमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।
सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीको टोलीसंग अध्ययन अवलोकन भ्रमण तथा वार्षिक योजना कार्यशाला तर्जुमा गर्न जानेक्रममा उनले आफ्नो जन्मस्थल स्याङ्जा पुगेर उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनको उम्मेदवारी घोषणसंगै स्याङ्जाका वालिङ उद्योग वाणिज्य संघ, भीरकोट उद्योग वाणिज्य संघ र स्याङ्जा उद्योग वाणिज्य संघले सर्मथन तथा प्रस्ताव गरेका छन् ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नवदत्त अर्याल र स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले शर्माको उम्मेदवारीमा संस्थागत सर्मथन गर्दै उनलाई निर्वाचित गराउनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
शर्माले उम्मेदवारी घोषणा गरेसंगै पोखरा उद्योग वाणिज्य संघले पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवन प्रजापतीले जानकारी दिए।
शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै नेपाल उद्योग वाणिज्य महासंघको ५ कार्यकाल केन्द्रिय सदस्य र अहिले दोस्रो कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षको जिम्मेवारीमा छन् । उनँलाई निर्वाचित गराउनका लागि मुलुकका अधिकांश उद्योग वाणिज्य संघहरुले समर्थन र प्रस्ताव गरेको बताइएको छ।

