

भैरहवा,२५वैशाख। लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रका समसामयिक चुनौतीहरुबारे संवाद गर्ने उद्देश्यले प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले ‘मिडिया बजेट, मिडिया नीति तथा कार्यक्रम, र सञ्चार क्षेत्रको अवस्था’ विषयमा एकदिवसीय अन्तरसंवाद कार्यक्रमको आयोजना गर्न लागेको छ । आगामी वैशाख २८ गते आइतबार लुम्बिनी प्रदेश सरकारको सभाहल, राप्ती उपत्यका (देउखुरी) मा हुने तय गरिएको छ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा क्रियाशील छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरुको साझा प्रतिनिधित्व गर्दै आएको संघले सञ्चार माध्यमहरुमाथि देखिएका नीतिगत अस्पष्टता, बजेट अभाव, प्रविधिमा पहुँचको असमानता र राज्य प्राथमिकताको न्यूनता जस्ता समस्याहरुको दीर्घकालीन समाधानका लागि सरकारसँग प्रत्यक्ष संवाद आवश्यक ठानेर कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।



संघका अध्यक्ष नवराज कुँवरका अनुसार पछिल्लो केही वर्षयता सञ्चार माध्यमहरु लोकतन्त्रको आधार स्तम्भका रुपमा कार्यरत भए पनि नीतिगत अन्यौल र आर्थिक अभावका कारण सञ्चार संस्थाहरु संकटमा परेका छन्। ।
उनले भने–‘मिडिया हाउसहरु जनचेतना अभिवृद्धि, नागरिक सशक्तिकरण, र सुशासनमा योगदान पुर्याइरहेका छन्। तर, राज्यबाट अपेक्षित नीति, कार्यक्रम र बजेटको अभाव हुँदा सञ्चारको प्रभावकारिता घट्दो छ। यही पृष्ठभूमिमा, हामीले प्रत्यक्ष संवादमार्फत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका हौं।’
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रदेश सरकारका प्रमुख सचिव, सम्बन्धित मन्त्रालयका सचिवहरु, लुम्बिनी प्रदेश सञ्चार परिषद्का अध्यक्ष, विभिन्न सञ्चार संस्थाका सञ्चालक, सम्पादक, मिडिया विज्ञ, पत्रकार संगठनका प्रतिनिधिहरू लगायत करिब १ सय जना सहभागीता रहने बताइएको छ।
संघका महासचिव माधव नेपालका अनुसार कार्यक्रमको मुख्य उद्देश्य लुम्बिनी प्रदेश सरकार र सञ्चार क्षेत्रबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्नु, सञ्चार नीतिको समीक्षा र सुधारको आधार तयार गर्नु तथा सरकार र सञ्चार माध्यमबीच सहकार्य र साझेदारीको प्रवद्र्धन गर्नु हो।
उनले भने,–‘मिडिया नीति र बजेटको विषयलाई स्पष्ट र न्यायोचित बनाउने प्रयासमा हामी सरकारसँग सहकार्य गर्न तयार छौं । यस संवादले भविष्यमा प्रदेशस्तरको सञ्चार नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं ।’
प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले हालै गठन गरिएको आफ्नो दुईवर्षे कार्ययोजनाको एक भागस्वरुप यो संवाद कार्यक्रम आयोजना गर्न लागेको हो । संघले प्रदेशस्तरका मिडियालाई व्यवस्थित बनाउने, प्रदेश सरकारसँग समन्वयमा नीति निर्माण र बजेट सुनिश्चितता हासिल गर्ने तथा मिडियामा व्यवसायिकता र मर्यादा कायम राख्ने दिशामा विभिन्न कार्यक्रमहरु अघि सारेको छ ।
यस संवाद कार्यक्रमले सञ्चार क्षेत्रप्रति प्रदेश सरकारको प्रतिबद्धता, सरोकार, र गम्भीर ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ। साथै कार्यक्रमपछि निस्कने सुझाव र सिफारिसहरुलाई संघले दस्तावेजीकरण गरेर नीति निर्माण तहमा पठाउने तयारी समेत गरिएको महासचिव नेपालले जानकारी दिए।
संघका अनुसार संवाद कार्यक्रममा सञ्चार क्षेत्रका उपलब्धि, चुनौती, राज्यको दायित्व र सहकार्यका सम्भावनाहरूबारे गम्भीर छलफल गरिनेछ । संवादका क्रममा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र सहभागीहरुले सुझाव राख्ने समय समेत दिइनेछ। प्रदेश सरकारसँगको यो प्रत्यक्ष संवाद सञ्चार नीतिलाई व्यवहारिक, समावेशी र विकासोन्मुख बनाउन सहयोगी हुने प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले विश्वास लिएको छ।