
भैरहवा, २८ वैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएको छ । भैरहवा आएका अध्यक्ष लिङ्देनलाई ज्ञापनपत्र बुझाइएको संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताए।
विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई यही विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने नीति तथा सहजीकरण (कर छुट, सेवा शुल्क छुट) गरिनुपर्ने र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरुको शिघ्र समाधान गरिनुपर्ने संगठनको माग छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै गौतमबुद्ध विमानस्थललाई दोस्रो मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वारको रुपमा विकास गर्ने राष्ट्रिय नीति तथा रणनीतिमा उच्च प्राथमिकता दिनुपर्ने, लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनलाई जोड्दै विशेष पर्यटक प्याकेज विकास गरी विमानस्थलमा चाप बढाउने पहल गर्नुपर्ने, विमानस्थलमा व्यापार र निर्यात प्रवद्र्धनका लागि एयर कार्गो सेवा विस्तार गर्नुपर्ने तथा स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरी विमानस्थलको दिगो सञ्चालनको सुनिश्चितता गर्नुपर्ने संगठनले माग गरेको छ ।
अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी विमानस्थलको पहिचान प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने यात्रुहरुको लागि वन–स्टप सेवा केन्द्र (श्रम स्वीकृति, मेडिकल जाँच, ओभरसिज इम्प्लोइमेन्ट इजाजत, बीमा, इम्बार्केशन, काउन्सेलिङ आदि एकै स्थानबाट उपलब्ध हुने) स्थापना गर्नुपर्ने, वैदेशिक रोजगार विभागको क्षेत्रीय कार्यालय स्थापना गर्नुपर्ने र विमानस्थलमा श्रमिक सहायता काउण्टर स्थापना गर्नुपर्ने उपप्रधानमन्त्री समेत रहेका लिङ्देनलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले लुम्बिनी प्रदेश मात्र नभइ सम्पूर्ण देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए। ‘विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा समेत यसको नियमितता हुन सकेको छैन’, उनले भने–‘कहिले चल्ने र कहिले बन्द हुने अनिश्चित अवस्थाले उद्योगी, व्यवसायी, पर्यटक तथा सर्वसाधारणमा निराशा बढेको छ ।’
ज्ञापनपत्र बुझाउने कार्यक्रममा संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, वाणिज्य उपाध्यक्ष राम मिलन यादव लगायतको उपस्थिति थियो।
संगठनले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने माग राख्दै हालै पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनमत पार्टीका अध्यक्ष डा. सि.के.राउतलाई समेत ज्ञापनपत्र बुझाएको थियो ।

