
हरि शर्मा
परासी,२८बैशाख। विदेश गएका जनप्रतिनिधिहरुको सेवासुविधा पालिकाले निरन्तर उपलब्ध गराउँदै आएको पाइएको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले व्यक्तिगत रुपमा विदेश गएका दुई जना वडासदस्यहरुको सेवा सुविधा बापतको रकम उनीहरुको बैंक खातामा निरन्तर पठाउँदै आएको पाइएको हो।
Advertisement

Advertisement
Advertisement

पालिकाको वडा नं. ६ का वडासदस्य भरतकुमार राना करिब दुई वर्षअघि जापान गएका थिए । साथै, ६ महिना अघि अमेरिका गएका वडा नम्बर ४ का सदस्य लक्ष्मण श्रेष्ठ गत बैशाख २४ गते फर्किएका छन्।
जापान गएका रानाले वडाअध्यक्षलाई आफू विदेश जाने मौखिक जानकारी गराएका थिए। अमेरिकाबाट दुई दिनअघि फर्किएका श्रेष्ठले वडा कार्यालयमा लिखित निवेदन दिएर आफू २०८१ कात्तिकदेखि २०८२ वैशाख २३ सम्म छोरीले घुम्न बोलाएकाले अमेरिका जाने हुँदा वडामा सेवा दिने कार्यमा अनुपस्थित हुने भन्दै निवेदन दिएका थिए।
तर, नगरपालिकाले भने ती दुवै जनाको सेवा सुविधाबापतको रकम खातामा पठाएको छ। ‘वडा सदस्य श्रेष्ठले दिएको निवेदनका आधारमा उनी अनुपस्थित हुने व्यहोराको जानकारी पत्र नगरपालिकामा इमेलबाट पठाएका हौं। उहाँ फर्किनुभएको छ। सेवा सुविधाको रकमबारे हामीलाई जानकारी हुने कुरा भएन’, वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण पंगेनीले भने।
यता वडा नम्बर ६ का अध्यक्ष हिमलाल शर्माले वडा सदस्य रानाले आफू जापान जाने भन्दै मौखिक जानकारी गराएको बताए। ‘उहाँ गएको करिब डेढ वर्ष बढी भए होला। १÷२ वर्षमा फर्किन्छु भन्दै जानु भएको हो, अहिलेसम्म आउनुभएको छैन’, वडाअध्यक्ष शर्माले भने।
जनप्रतिनिधिहरु विदेश गएको बारे कसैले पनि जानकारी नदिएकाले २०८१ चैतसम्मको सेवा सुविधाबापतको रकम पठाइएको नगरपालिकाले जनाएको छ। ‘कुन जनप्रतिनिधि कहाँ जानु भयो हामीलाई थाहा हुन्न, फेरि उहाँहरुको हाजिरी पनि हुन्न। थाहा नपाएपछि सरकारले तोकेको सेवा सुविधा नियमित रुपमा पठाउनै पर्यो’, सुनवल नगरपालिकाका लेखा अधिकृत वृहस्पति घिमिरेले भने। विदेश गए÷नगएको बुझेर त्यसरी गएको रकमबारे के गर्ने भन्नेबारे छलफल गरिने घिमिरेको भनाई छ।
रामग्राम नगरपालिका १६ का वडा सदस्य पनि साढे दुई वर्षदेखि विदेशमा छन्। वडा सदस्य सञ्जय सहानी चुनाव भएको करिब ६ महिनापछि पोर्चुगल गएका हुन्। उनी विदेश गएको जानकारी पाएपछि सेवा सुविधाबापतको रकम नपठाइएको नगरपालिकाले जनाएको छ।
‘वडामा पनि जानकारी गराएनन्। राजीनामा पनि दिएनन्। घरमा सोध्दा इन्डिया गएको छ आउँछ भन्दै परिवारले पनि ६ महिनासम्म झुट बोले। पछि पोर्चुगल गएको थाहा पाएपछि नगरपालिकामा जानकारी गराए’, वडाअध्यक्ष विजय यादवले भने। वडाअध्यक्षले जानकारी दिएपछि वडा सदस्य सहानीले पाउने सेवा सुविधको रकम नपठाइएको नगरपालिकाका लेखा अधिकृत कुन्दन चौधरीले बताए।
‘विदेश गए वा लामो समयसम्म अनुपस्थित भएमा के गर्ने भन्नेबारे ऐनमा केही उल्लेख छैन। पछि उहाँ आएर दाबी गरे त्यति बेलै सोचौंला। वडामा नभएको जानकारी भएपछि रकम पठाउने कुरा भएन’, लेखा अधिकृत चौधरीले भने।
जिल्लामा ७ पालिका छन्। अन्य पालिकाका प्रमुखहरुले आफ्नो पालिकाका कुनै पनि पदाधिकारी वा सदस्य विदेश नगएको र नियमित रुपमा स्थानीय तहको काममा लागेको बताएका छन्।
जनताको सेवामा खटिएबापत जनप्रतिनिधिहरुलाई सरकारले सेवा सुविधा दिँदै आएको छ। तर, देश नै छाडेर गएका जनप्रतिनिधिहरुको रकमसमेत लगातार पठाउनु राज्य स्रोतको दोहन भएको स्थानीयको भनाइ छ।
लुम्बिनी प्रदेशको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ मा स्थानीय तहहरुका पदाधिकारी तथा सदस्यहरुले विभिन्न १४ शीर्षकमा पाउने सेवा सुविधा उल्लेख गरिएको छ।
जसअनुसार नगरपालिकाकाले वडा सदस्यहरुलाई कम्तीमा पनि मासिक रुपमा ११ हजार पठाउँदै आएको छ। बैठक भत्ता, दैनिक भ्रमण भत्ता, विदेश भ्रमण गर्दाको दैनिक भत्ता र यात्रा बीमा भने कामका आधारमा उपलब्ध गराउँदै आइएको छ।
बैठक भत्तासहित अन्य शिर्षकको रकम नजोड्दा पनि सवारी इन्धनसहित काट्नै नमिल्ने शीर्षकको मासिक ११ हजार र चाड पर्वबापत वर्षको ८ हजारका दरले हुन आउने वार्षिक कुल रकम १ लाख चालिस हजार एक वडा सदस्यहरुलाई उपलब्ध गराउँदै आइएको छ।
विधेयकको दफा १२ को भत्ता नपाउने महलमा कुनै पदाधिकारी वा सदस्यले आफ्नो पदबाट निलम्बित भएमा त्यस्तो निलम्बित अवधिभर र फौजदारी अभियोगमा अदालतको आदेशबमोजिम थुनामा वा कैदमा रहेमा त्यसरी थुना वा कैदमा रहेको अवधिभरका लागि निजले यस ऐनबमोजिम पाउने कुनै किसिमको सुविधा भत्ता पाउने छैन भन्ने उल्लेख छ।
तर, कुनै पदाधिकारी वा सदस्य व्यक्तिगत काममा लामो समयसम्म आफ्नो पालिका वा वडामा नआउने र विदेश जाँदा उनीहरुले पाउने सेवा सुविधाको रकम के हुने ? भन्ने उल्लेख नहुँदा समस्या भएको कर्मचारीहरुले बताएका छन्। पदाधिकारी वा सदस्यहरु कति बैठकमा नआएमा सेवा सुविधा नपाउने लगायतका विषय ऐनमा समेटिएको भए त्यसैको आधारमा सेवा सुविधा दिन सहज हुने कर्मचारीहरुको भनाइ छ।

