


काठमाडौं,२८बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको जस्तै सोचेर अरुलाई गाली गलौज नगर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
आईतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले आफैँ ऐना हेरेर आफ्नै अनुहार देखेर पनि गाली गर्ने काम नगर्न आग्रह गरे। उनले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका सांसदहरुले टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोल्नुभएको बताए।
प्रधानमन्त्री ओलीले भने– ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यु र विपक्षी दलका मान्यजीहरुले टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोल्नुभएको थियो। म त्यतापट्टि जान चाहिन। ऐना अगाडि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रैछस्, उस्तो रैछस् भनेर गाली गर्ने । त्यसमा मैले केही भनिरहन आवश्यक छैन जस्तो देख्छु। आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरुलाई गाली गर्ने। त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै हो ।’
उनले संसदमा सामाजिक सञ्जालका टिप्पणीहरु व्यक्त गर्न नहुने बताए ।

