


भैरहवा,३०बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ।
पालिकाका युवा लक्षित वर्गलाई सरकारी सेवामा आर्कषण र मानव संशाधनको विकास गर्ने उद्देश्यले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

कक्षामा लोकसेवा सम्बन्धी सामन्य ज्ञान, बौद्धिक परिक्षण, लेखन तथा सेवाका विषयहरुमा प्रशिक्षण दिइने सिद्धार्थनगर नगरपालिका कार्यालयका समाजिक विकास शाखा अधिकृत लक्ष्मण गिरीले जानकारी दिए।
उनका अनुसार नायब सुब्बा (नासु) पदको तयारीका लागि ३० दिनसम्म सञ्चालन हुने कक्षामा ६० जना सहभागी छन्।
शिक्षा हासिल गरेका तर आर्थिक लगायत कारण लोकसेवा तयारी कक्षामा सहभागी हुन नसकेका नगरबासीहरुका लागि तयारी कक्षा फलदायी देखिएको छ। पालिकाले गत वर्ष संचालन गरेको नासु पदको तयारी कक्षामा सहभागी भएर दुई जनाले सरकारी सेवामा नाम निकाल्न सफल भएको अधिकृत गिरीले बताए।

तयारी कक्षाका लागि जिल्लाभित्रका सरकारी निकायमा कार्यरत कर्मचारी प्रशिक्षकमार्फत कक्षा सञ्चालन गरिएको सिद्धार्थनगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए।
‘भौतिक पूर्वाधारको विकाससँगै मानव संशाधनको विकास पनि अपिहार्य छ’,उनले भने, ‘विगतका वर्ष सञ्चालन गरिएको तयारी कक्षामा नगरबासीको आर्कषण देखिएपछि यस वर्ष पनि कक्षा सञ्चालन गरेका हौँ ।’

