


भैरहवा,२जेठ। रुपन्देहीको ओमसतिया गाउँपालिकामा पालिका स्तरिय तेश्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा पालिकाको वडा नम्बर ६ ले वडा नम्बर २ लाई ५ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर २ ले निर्धारित १२ ओभरको खेलमा ९२ रन मात्र बनायो। वडा नम्बर २ का लागि बादल छन्त्यालले सर्वाधिक २२ रन बनाउदा अजय यादवले ११ रन र विकास यादवले १० रन मात्र जोड्न सके।

बलिङमा वडा नम्बर ६ का शेखर चौधरीले ४ विकेट, नितेश वरुण र किशोर यादवले समान २/२ विकेट लिए। ९३ रनको लक्ष्य सहित मैदानमा छिरेका वडा नम्बर ६ ले ९ ओभरमै ५ विकेटको क्षतिमा जित निकाल्यो।
वडा नम्बर ६ का लागि रवि यादवले सर्वाधिक ४४ रन बनाए । कृष्ण पासीले १७ रन बनाए। बलिङमा वडा नम्बर २ का अभिषेकले २ विकेट लिए।
यस्तै शुक्रबार नै सम्पन्न दोश्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर १ लाई ५८ रनले हराएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ३ ले १२३ रन बनाएको थियो। १२४ रनको लक्ष्य पाएको वडा नम्बर १ भने ६५ रनमै अलआउट भएको खेल संयोजक मनोज यादवले जानकारी दिए ।
शुक्रबार नै सम्पन्न तेश्रो खेलमा भने वर्षा बाधक बन्दा वडा नम्बर ४ र वडा नम्बर ५ ले समान एक÷एक अंक बाडेका छन्। टस जितेर ब्याटिङ गरेको वडा नम्बर ४ ले ११५ रन बनाउदा अर्को टिम खेल्न नपाउँदै वर्षा भएपछि अंक बाडिएको संयोजक यादवले बताए।
उनका अनुसार ओमतिया गाउँपालिकाका ६ वटा वडाबाट एक/एक टिम र पालिकाको कर्मचारीको २ टिम गरी कुल ८ टिम सहभागी प्रतियोगितामा २ समूहमा बिभाजित गरिएको छ। दुवै समूहको शिर्ष २ टोली सेमिफाईनलको लागि प्रवेश गर्नेछ।
आयोजकका अनुसार पालिकाको वडा नं. २ स्थित कर्मडाँडा मैदानमा जारी प्रतियोगिताको फाइनल खेल ७ गते हुनेछ। विजेता टोलीले ६० हजार नगद संगै कप र उपविजेताले ३० हजार र कप प्राप्त गर्नेछ। अनुसाशित टोलीले १० हजार, मेन अफ द सिरिज ५ हजार र शिल्ड, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले जनही २ हजार ५ सय रुपैयाँका दरले पुरस्कार पाउने छन् ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले पालिकाका युवाहरुलाई खेलकुदमा रुची जगाउन, दुव्र्यसनबाट जोगाउन र क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरिएको बताए।

उनले गाउँपालिकाबाट शक्ति गौचन लगायत अन्तर्राष्ट्रिय स्तरकै खेलाडीहरु उत्पादन भएको हुँदा पालिका क्रिकेट खेलको उर्बर भूमिको रुपमा रहेको बताए। पालिकामा खेल मैदानको अभाव भएको हुँदा भविष्यमा खेल मैदानको पहिचान गरी त्यसलाई विकास गर्ने र भएको खेल मैदानहरुको स्तरोन्नती गर्न पालिका प्रतिवद्ध रहेको बताए ।
उदघाटन कार्यक्रममा ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बराल, वडा नम्बर २ का वडा अध्यक्ष सितल जिटी, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल, वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी लगायतको उपस्थिति रहेको थियो ।

