


भैरहवा,७ जेठ। ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको तेश्रो संस्करणको उपाधि वडा नम्बर ६ ले उचालेको छ।
आज (बुधवार) पडसरीको कर्मडाँडा स्थित मैदानमा भएको फाइनल खेलमा वडा नम्बर २ लाई ४ विकेटले पराजित गर्दै वडा नम्बर ६ ले अध्यक्ष कप क्रिकेटको उपाधि उचालेको हो। वडा नम्बर ६ ले जित सँगै नगद ६० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।

अध्यक्ष कपको दोश्रो संस्करणको विजेता समेत रहेको वडा नम्बर ६ ले उपाधि रक्षा गर्न सफल भएको छ। उप विजेता वडा नम्बर २ ले ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो। गत वर्षको फाइनलमा पनि वडा नम्बर ६ ले वडा नम्बर २ लाई पराजित गरेको थियो ।
जितका लागी पाएको ११६ रनको लक्ष्य वडा नम्बर ६ १२ दशमलव २ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गर्यो। वडा नम्बर ६ को जितमा रवि यादव र अनिल यादवले समान २६-२६ रन बनाए भने सुरज गुप्ताले १८, सुनिल हरीजन र किशोर यादवले समान १३-१३ तथा कृष्ण पासीले १२ रन बनाए ।
बलिंगमा वडा नम्बर २ का अभिषेक ,सन्तोष ओलिले २-२ तथा बसन्त र अजय यादवले १-१ विकेट लिएका थिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर २ले निर्धारित १५ ओभरको खेलमा १३ दशमलब १ ओभरमा सवै विकेट गुमाउँदै ११५ रन योगफल बनाएको थियो ।
वडा नम्बर २ का लागी बबि छन्त्यालले आकर्षक ईनिंग खेल्दै ५ चौका र ३ छक्काको मद्दतले २६ बलमा ४८ रन बनाएका थिए। तर, जितका लागी पर्याप्त भएन ।
त्यसै गरी सुमितले २०,आदर्शले १४ तथा सन्तोष ओलीले ११ बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन। बलिंगमा वडा नम्बर ६ का नितेश बरुणले ६ विकेट लिए ।
प्रतियोगितामा वडा नम्बर ३ का रुपेश यादव म्यान अफ द सिरिज घोषित हुदै ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे भने उत्कृष्ट ब्याटसम्यानको उपाधि वडा नम्बर ३ कै रूपेश यादवले पाए । उनले २ हजार ५ सय रुपैया र ट्रफी पाए भने उत्कृष्ट बलरको उपाधि वडा नम्बर ६ का नितेश बरुण घोषित हुदै २ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गरे ।
त्यसै गरी अनुशासित टिमबाट ओमसतिया गाउँपालिका ए टिम १० हजार रुपैयाँ बाट पुरस्कृत भयो ।
बिजयी तथा उप बिजयी टिम र उत्कृष्ट खेलाडीहरूलाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव(सोनु),उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, लेखा शाखा प्रमुख कमल शर्मा, ओमसतिया गाउँपालिका वडा २ का अध्यक्ष सितल जिटी, वडा ६ का अध्यक्ष शिव कुमार धवल लगायतले नगद पुरस्कार, ट्रफी, पदक, प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता ओमसतिया गाउँपालिकाको आयोजनामा सञ्चालन भएको हो ।

