


सप्तरी,९जेठ। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डकै कोठामा चोरी भएको छ। सुरक्षा गार्ड जिल्लाको शम्भुनाथ नगरपालिका–७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र सोही पालिकाका वडा नम्बर–५ का ४४ वर्षीय पर्शुराम चौधरीको कोठामा चोरी भएको हो।
सप्तरीका एसपी एसपी ढकेन्द्र खतिवडाका अनुसार दुवै सुरक्षागार्ड कोठामै सुतिरहेको बेला १२ बोरको एकनाले हतियार, २० राउण्ड गोली, दुई थान मोबाइल, डिजिटल तराजुसहितका सामान चोरी भएको छ।

अनुसन्धानकै क्रममा एकाबिहानै सिराहाको लहान नगरपालिका–३ हस्पिटल चोकबाट चोरीका समानसहित खडक नगरपालिका–६ विसनपुरका २० वर्षीय अपसाद अन्सारीलाई पक्राउ गरिएको उनले बताए।
उनका अनुसार पक्राउ परेका अन्सारीको साथ ल्यापटप, कम्प्युटर स्क्यानर, खुकुरी र घडी दुई÷दुई थान, १२ बोरको एकनाले हतियारमा लाग्ने कार्टिज २० राउन्ड, मोबाइल ५ थान, सिमकार्ड, स्पिकर र डिजिटल तराजु एक÷एक थान बरामद भएको छ।
पक्राउ परेका अन्सारीले कल्याणपुरस्थित बैंकको ५ सय मिटर पश्चिम झाडीमा लुकाएर राखेको १२ बोरको एकनाले हतियार पनि बरामद भएको उनले बताए। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

