


भैरहवा,१७जेठ। रुपन्देहीमा भएको लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधी रुपन्देहीले उचालेको छ। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देहीको टिमले उपाधी उचालेको हो।
टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३५ ओभरमा २४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाउँदै १ सय ३१ रनको योगफल बनायो। जसका लागि ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले सिद्धार्थ ढकालले ५४ रन बनाउन सफल भए। रोजन कुमालले २६, समीर अलि मुसलमानले २२ र तुसार चौहानले १० रनको जोडे। बलिङमा दाङका शुभम खनालले ६ ओभरमा १५ रन खर्चेर ५ विकेट लिँदा दक्ष ठाकुरले ३, चन्द्रबहादुर थापा र करण जीएमले १–१ विकेट चड्काए।

जवाफी ब्याटिङमा दाङले २२ ओभर १ बलमा सबै विकेट गुमाएर ६९ रनमै समेटिन पुग्यो। बलिङमा रुपन्देहीका लक्ष्मण कुमालले ७ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ५ विकेट हात पारे। जुन रुपन्देहीको जितको महत्वपूर्ण हुन पुग्यो। यस्तै, प्रिन्स पालको नाममा ४ विकेट रह्यो।
दाङका अभिजित भण्डारीले सर्वाधिक १८ र शुभम खनालले १४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। प्रतियोगितामा रुपन्देहीका लक्ष्मण कुमाल म्यान अफ द फाइनल भए।
विजयी टिमलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशन्तविक्रम मल्ल, प्रतियोगिता संयोजक प्रथम पराजुली लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे।

