
काभ्रे,२०जेठ। पुल बेचेको आरोपमा प्रहरीले एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ का वडाध्यक्ष अशोक कुमार गौतम रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेका अनुसार पक्राउ परेका वडाअध्यक्ष गौतममाथी कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल कबाडीलाई बेचेको आरोप छ । गत असोजमा रोशी खोलमामा आएको बाढीले फलामको झोलुङ्गे पुल बगाएको थियो ।
Advertisement

Advertisement
Advertisement

वडाअध्यक्षले सरकारी सम्पत्ति मनोमानी ढंगले विक्रीका लागि ट्रकमा लोड गर्न लगाएपछि स्थानीयले अवरोध गरेका थिए। कवाडीवाला र स्थानीयबीच विवाद भएपछि प्रहरीमा जानकारी गराइएको थियो ।
जस पश्चात गत जेठ १२ गते राति प्रहरीले पुल लोड गरिएको बा ५ ख ४६२६ र बा २ ख ४००१ नम्बरको ट्रकसहित कवाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो।

साथै, टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ वर्ष ४७ का मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ वर्ष ४० का रमेश लामालाई समेत पक्राउ गरिएको डीएसपी घलेले बताए। घटना सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको काभ्रे प्रहरीले जनाएको छ।

