


भैरहवा,२८ जेठ। भैरहवामा मापदण्ड विपरित संचालनमा रहेका आठ वटा क्लिनिक र दुई वटा ल्याब बन्द गरिएको छ। बुधवार जिल्ला बजार अनुगमन समिति रुपन्देहीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७, १२ र १३ मा रहेका १० वटा स्वास्थ्य संस्था बन्द गरेको हो ।
समितिका संयोजक एंव सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाका अनुसार मापदण्ड विपरित संचालनमा रहेका शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा संचालित क्लिनिक, होमटाउन फार्मेसीमा संचालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा संचालित क्लिनिक, नेपाल चश्मा पसल, जिविका मेडिकल प्रालिमा संचालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक, लुम्बिनी प्याथेलोजी र न्यु ओम प्याथोलोजी ल्याब बन्द गरिएको छ ।

स्वास्थ्य संस्था संचालनका लागि आवश्यक मापदण्ड पूरा नगरी संचालन गरिएको पाइएपछि बन्द गरिएको उनले जानकारी दिए। समितिले कुल १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो।
समितिले बन्द गरेका अधिकांश क्लिनिक फार्मेसीसँगै संचालित थिए । फार्मेसी संचालनको अनुमती लिए पनि क्लिनिक संचालनको अनुमती नलिएको कारण समितिले उक्त क्लिनिकहरु बन्द गरेको हो।
अनुगमनका क्रममा यी स्वास्थ्य संस्थामा मध्ये केहीले स्वास्थ्य कार्यालय, रुपन्देही र केहीले सिद्धार्थनगर नगरपालिकाबाट अनुमती नै नलिइ संचालनमा रहेको पाइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताए। उक्त संस्थाहरुलाई तत्काल दर्ता प्रक्रियामा जान निर्देशन दिइएको उनले जनाए ।
संचालन अनुमती नलिँदासम्म यी क्लिनिक र ल्याब संचालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ ।

