
काठमाडौं,१०असार। सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई जिम्मेवारीबाट हटाइएको छ। कोशी ब्यारेज क्षेत्रका गाँजा मुद्दाका एक आरोपीलाई पक्राउ नगर्नका लागि घुस लिएको विषय बाहिरिएपछि छानबिनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको हो।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, खतिवडामाथि केही बुझ्नु पर्ने भएकाले बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको हो। एसपी खतिवडाले सई विश्वनाथ त्रिपाठीमार्फत आरोपीका भाई अखिलेश मण्डलसँग चार लाख रुपैयाँ लिएको आरोप छ।
Advertisement

Advertisement
Advertisement

घटनाका सम्बन्धमा मधेस प्रदेश प्रहरी कार्यालयले घटनाको छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, प्रारम्भिक अनुसन्धान स्वरुप सई त्रिपाठीलाई समेत प्रदेश कार्यालयमा बोलाएर सोधपुछ भइरहेको छ। खतिवडाको स्थानमा प्रहरी मुख्यालयको युएन शाखामा कार्यरत एसपी गौतम केसीलाई सप्तरीको जिम्मेवारी दिइएको छ।
केसी पनि यसअघि धादिङबाट तानिएका थिए। गत असोजमा परेको वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियो। झ्याप्ले खोलामा पहिरोले गाडी पुर्दा धेरै मान्छेले ज्यान समेत गुमाएका थिए। यो घटनामा छानबिन समितिले एसपी केसीको समेत कमजोरी औंल्याएपछि उनको जिम्मेवारी खोसिएको थियो ।

