


स्याङ्जा,११ असार। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकामा घट्दो जनसंख्यालाई मध्यनजर गर्दै कम्तीमा दुई भन्दा बढी सन्तान जन्माउने प्रोत्साहन गर्ने भएको छ। पालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार, यस्तो परिवारलाई बालबालिका पालनपोषणमा सहयोग उपलब्ध गराइनेछ।
गाउँपालिकाले हालको ऋणात्मक जनसंख्या वृद्धिदर यथावत रहेमा ३० वर्षपछि जनसंख्या १७ हजार ९०० बाट घटेर ५ हजारमा झर्ने प्रक्षेपण गरेको उनले बताए । यो अवस्थालाई सम्हाल्न आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिइन्।

गाउँपालिकाले खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नीति पनि ल्याएको छ। खेती नगर्ने व्यक्तिलाई जरिवाना तिर्नुपर्नेछ भने चाहने किसानलाई अनुदान दिइनेछ। खेती गर्न नसक्नेको जमिन गाउँपालिकाले भाडामा लिएर भूमि बैंकमार्फत प्रयोग गर्ने र त्यसमा स्थानीय युवालाई रोजगार दिने योजना रहेको अध्यक्ष थापाले बताए।

