
काठमाडौं,१३असार। नेपाली कांग्रेसले केन्द्रीय कार्यालय विस्तारका लागि १३ करोड रुपैयाँ बराबरको जग्गा खरिद गर्ने सम्झौता गरेको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै १९ आना जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय भएको जानकारी दिएका छन्।
Advertisement

Advertisement
Advertisement

‘कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्यका साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको उक्त जग्गा र घर १३ करोडमा खरिद गर्ने निर्णय गरेको हो।
पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको कांग्रेसले जनाएको छ।

