
भैरहवा, १८ असार । रुपन्देही–३ मा उपनिर्वाचनको मिति घोषणाभएसँगै क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेको बैशाखी टेकेर राप्रपाबाट निर्वाचित दीपक बोहराको निधनपछि संसदीय सिट रिक्त छ ।
निर्वाचन आयोगको उपनिर्वाचन गराउने निर्णयसँगै क्षेत्रमा उम्मेदवारहरुको चर्चा सुरु भएको छ । नेकपा एमालेबाट खिमलाल भट्टराई उम्मेदवार हुने चर्चा छ । यद्यपी पार्टीले आधिकारिक रुपमा कुनै निर्णय सार्वजनिक गरेको छैन ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै ०७९ सालमा डडेलधुरा–१ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएर पराजित भएका सागर ढकालले मंगलबार फेसबुकमा रुपन्देही–३ लाई लक्षित गरी स्ट्याटस लेखेपछि उनले पनि उम्मेदवारी दिन सक्ने यहाँ चर्चा सुरु गरिएको छ । यद्यपी उनले आफुले उम्मेदवारी नै दिनेबारे स्पष्ट लेखेका छैनन्।
आफ्नो फेसबुकमा प्रोफाइल तस्विरको पछाडी राष्ट्रिय झण्डाको तस्विर राखेर समेत मुलुकमा राष्ट्रवादी छवि देखाउन खोजेका ढकालले मंगलबार स्ट्याटससहितको पोष्ट गरेको पोस्टरमा भने नेपालको चुच्चे नक्सा राख्न नसकेको देखिएको छ ।
यी उम्मेदवारहरुको चर्चासँगै स्थानीय मतदाताहरुबीच आफुहरुलाई पर्यटक नभई स्थानीय नेता (उम्मेदवार) आवश्यक रहेको भन्दै चिया पसल देखि सामाजिक संजालसम्म बहस सुरु भएको छ। पहाड घर गुल्मी भएका भट्टराई रुपन्देही–५ (सैनामैना नगरपालिका–५) मा बसोबास गर्छन्। ‘टुरिष्ट उम्मेदवार’ ढकाल पनि गुल्मीको बासिन्दा बताइएपनि उनको स्थायी ठेगाना खुल्न सकेको छैन।
डडेलधुराबाट पराजित भएपछि जनताको साथ छाडेका ढकाल रुपन्देही–३ मा निर्वाचन हुने भएपछि उता छाडेर फेरी यता ‘मुख जोड्न’ थालेको देखिएको छ । केही समय अघि उनले यस क्षेत्रका केही स्थानीय व्यक्तिहरुसँग भेटघाट गरेका थिए। यद्यपी कानुनी व्यवस्था अनुसार उनीहरुले उम्मेदवारी दिन चाहे पाउनेछन्।
भैरहवाका व्यवसायी राजकुमार गुप्ताले बुधवार सामाजिक संजाल फेसबुकमा पर्यटक नभई स्थानीय नेता चाहिएको पोस्टर पोष्ट गरेका छन्। उक्त पोस्टरमा लेखिएको छ–‘पर्यटक नेता होइन, स्थानीय नेता चाहिन्छ । समस्या बुझ्ने, हाम्रो पक्षमा उभिने नेता अबको आवश्यकता हो । रुपन्देही क्षेत्र नं. ३।’

यस्तै भैरहवाका अर्का व्यवसायी अजय कुमार गुप्ताले पनि फेसबुकमा उम्मेदवार आयातित नै ल्याउनु पर्ने नभई रैथान युवाको कमी नरहेको उल्लेख गर्दै स्ट्याटस पोष्ट गरेका छन्। उनले लेखेका छन्–‘रुपन्देही–३ मा युवा उम्मेदवार छैनन्, आयातित नै ल्याउनु पर्ने भने होइन है, धैर्य राख्नुहोला । रैथाने–राजनैतिक बिचार बोकेको युवाको कमी छैन । यो पाली ट्रायल नगरौँ–नसोचौँ, धैर्य गर्नुहोस् ।’
रुपन्देही–३ मा एमालेबाट भट्टराई उम्मेदवार हुने विषयमा संचारमाध्यमहरुमा समाचार प्रकाशित भएपछि यस क्षेत्रका पत्रकार शम्भु पन्तले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्–‘रुपन्देही–३ मा पर्यटकको आगमन हुँदैछ, सावधान मन मत बदल्ने पर्व हो ।’

