


काठमाडौं,२१ असार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण भूमिका नभएको भए नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नआउने बताएका छन्।
काठमाडौंमा आयोजित स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती समारोहलाई सम्बोधन उनले यस्तो बताएका हुन्। उनले कोइरालासँग आफ्नो राजनीतिक सम्बन्ध उतारचढावपूर्ण रहेको स्मरण गर्दै पार्टीभित्रको मतभेदका कारण आफूलाई निष्कासन गरेपछि नयाँ पार्टी खोल्नुपरेको प्रसंग पनि उल्लेख गरे।

देउवाले आफूलाई पार्टीबाट निकालिएपछि र प्रधानमन्त्री पदबाट हटाइएका बेला गिरिजाप्रसाद कोइराला र तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भन्ने गरेको तीतो अनुभव पनि बाँडे।
स्व. कोइरालालाई एक लडाकु र दृढ व्यक्तित्वका रुपमा स्मरण गर्दै देउवाले उनी नभएको भए गणतन्त्र ल्याउनेबारे कसैले सोच्न पनि नसक्ने अवस्था रहेको बताए। उनले नेपालमा गणतन्त्र स्थापनाको पहिलो श्रेय स्व.गिरिजाप्रसाद कोइरालालाई नै जाने दोहोर्याए।

