


काठमाडौं,२५असार। नेपाली कांग्रेसले पार्टीले अनुशासन उल्लंघन गरेको भन्दै जिल्ला सभापति देखि स्थानीय तहका नेतासम्मलाई कारबाही गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ सालको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध काम गरेको प्रमाणित भएकाहरुलाई विभिन्न तहको कारबाही गरेको हो।

अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी आएका थिए। निर्वाचनमा अन्तर्घात गरेका विषयमा अधिकांश उजुरी रहेको समितिले जनाएको छ। अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार पार्टीको विधान २०७४ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) र उपधारा ८ (ड) अनुसार कारबाही गरिएको हो।
समितिले कास्कीका महासमिति सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा,लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल,खोटाङका सभापति विष्णुकुमार राई, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई एक वर्षका लागि कांग्रेसको सदस्यता र पार्टीबाट निष्कासित गरेको छ।
त्यस्तै धनुषाको लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिनाको लागि सदस्यता निष्कासन गरिएको छ।
यस्तै पार्टीले अनुशासन समितिले १२ जना सबैला नगरपालिकाका नगर सभापति खटरु यादव,धनुषाधाम नगरपालिका वडा नं. १ का रामबाबु यादव, मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव,कास्की क्षेत्र नं. २ का सहसचिव भावना श्रेष्ठ, कैलालीका महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, धनगढी, उपमहानगरपालिकाका पूर्व महासमिति सदस्य आनन्दराज जोशी, क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्यहरु लेखराज ओझा, सुभाष चन्द र बब्लुकुमार चौधरी लाई ६ महिनासम्मका लागि निलम्बन गरेको छ।
यस्तै कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाको लागि निलम्बन गरिएको छ। अनुशासन समितिका अनुसार कारबाही गरिएकाहरुले सामाजिक सञ्जाल, अडियो र भिडियोजस्ता माध्यममार्फत पार्टी उम्मेदवारलाई हराउन उद्दत व्यवहार देखाएको प्रमाण फेला परेको थियो।
पार्टी उम्मेदवारहरुलाई पराजित गराउने नियतसहित गरिएको व्यवहार, प्रचार र असहयोगका प्रमाणहरुका आधारमा कारबाही गरिएको अनुशासन समितिले जनाएको छ।

