


कोहलपुर, ३१ असार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताएका छन्। एनटिभि कोहलपुरको २९ औं वार्षिकोत्सव समारोहलाई मंगलबार कोहलपुरमा सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रले समाजलाई अराजकताको बाटोमा होइन, परिवर्तनको मार्गमा लैजान जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले भने, ‘हामीले चौथो अंगको रुपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौं । तर, आज सञ्चारका नाममा स्वच्छन्दवाद फैलाउने प्रवृत्ति देखिन थालेको छ । यसले समाजमा अराजकता र अस्थिरता थप्न सक्छ । यसकारण मिडियाले सत्य, तथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ ।’

प्रदेश सरकार सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै उनले पत्रकारिता कल्याणकारी कोष, उपकरण विमा, विद्युत महशुलमा अनुदान, छात्रवृत्ति लगायतका कार्यक्रम अगाडि सारिएको जानकारी दिए। सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड मात्र नभई समृद्ध प्रदेश निर्माणको अभियानको अभिन्न साझेदार भएको बताउँदै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमले जनविश्वास र सुशासन मजबुत पार्न सक्ने धारणा व्यक्त गरे। उनले भने,‘प्रदेश सरकारको मूल उद्देश्य जनताको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउनु हो । यस अभियानमा सञ्चार क्षेत्र हाम्रो सहयात्री हो ।’
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले प्रदेशको समग्र विकासमा सञ्चारमाध्यमको सहकार्य महत्वपूर्ण भएको बताए। एनटिभिलाई सञ्चार क्षेत्रको ब्राण्डको रुपमा बुझ्ने गरिएको बताउँदै उनले आगामी वर्षका लागि योजनासहित दोब्बर बजेट विनियोजन गरिएको जानकारी दिए

