
काठमाडौं,१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन र चुनाव चिन्ह ‘घण्टी’ परिवर्तन गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आफूलाई अभियन्ता बताउने युवराज सफलले आयोगमा उजुरी दर्ता गराएका हुन्।
सफलले रास्वपाको नाममा ‘स्वतन्त्र’ शब्द जोड्नुले स्वतन्त्र उम्मेदवारहरुको पहिचान र अधिकारमाथि प्रहार भएको तर्क गरेका छन्।
Advertisement

Advertisement
Advertisement

निवेदनमा भनिएको छ, ‘कुनै पनि राजनीतिक दल निश्चित विचार, सिद्धान्त र कार्यक्रममा आधारित हुन्छ। तसर्थ, दल आफैँमा स्वतन्त्र हुन सक्दैन। यो शब्दले आम मतदातामा भ्रम छरेको छ र स्वतन्त्र उम्मेदवारहरुको हक खोसेको छ।’
यस्तै निवेदनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रति पनि गम्भीर आपत्ति जनाइएको छ। उनका अनुसार, ‘घण्टी’ नेपालका बहुसंख्यक हिन्दू धर्मावलम्बीहरुको आस्था र विश्वाससँग जोडिएको धार्मिक प्रतीक भएकाले यसलाई राजनीतिक दलको चुनाव चिह्न बनाउनु धार्मिक मान्यतामाथिको प्रहार भएको उनको जिकिर छ।

