


काठमाडौं,२ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली कागजात बनाउने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको धरमपुर घर भई काठमाडौं महनगरपालिका-१० का ५२ वर्षीय सफराज खड्का रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका खड्काले विगत २ वर्ष देखि नक्कली कागजात बनाउँदै आएको प्राराम्भिक अनुसन्धानमा खुलेको सीआईबीका प्रवक्ता युवराज अड्डाले बताए।
उनका अनुसार खड्काले आफ्नो निजी पसलमा विभिन्न शैक्षिक संस्था (टियू, सिटीभिटी लगायत) मालपोत, नापी, अदालत, नगरपालिका, प्रहरी, कर कार्यालय, राजनीतिक दल लगायतका कागजातहरु नक्कली बनाउने गरेका थिए ।
पक्राउ परेका खड्काको साथबाट टियूदेखि सीटीइभीटी, एचएसईबी, एनईबीको होलोग्राम, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको रबर स्ट्याम्प, शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंकको स्टेटमेन्ट, रबर स्ट्याम्प बनाउने मेसिन, लगायतका सामग्री बरामद भएको उनले बताए ।
पक्राउ परेका खड्कामाथि लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

