


धनगढी,५ साउन। अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई घुससहित पक्राउ गरेको छ।
आयोगका अनुसार कैलाली जिल्लाको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगद्दी गरिएको काठसम्बन्धी बिमर्का (बिवरणपत्र) र छोडपूर्जीका लागि सेवाग्राहीसँग माग गरेको घुससहित यादव पक्राउ परेका हुन्।

उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले ७ लाख ३१ हजार घुससहित यादवलाई कार्यालयबाटै नियन्त्रणमा लिएको आयोगका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

