
भैरहवा, ७ साउन । व्यक्ति १ : एसपी ते बडा खतरा आइल बा । ओहदिनवा हमरे गौँवामे नोछा (गम्छा) बान्हके आइल रहे । ओहार से केतना, कैसन–कैसन सामान आवला ? पुलिस रोकला कि नाही ? पुलिस कैसन काम करता बा ? जनताके दुख देत बा कि सहयोग करता बा ? अरे ई सब विषयमे धिरे धिरे घुमा घुमाके के पुछत रहे सुनली हे । हम तो रहली नाई वह । मगर जे–जे बतावत रहाले उहो नाई थाह पाइले की एसपी हो । एकदम देहाती बन के अन्जान जैसे पुछत रहे हो । यी तो सबके बाद मे पता चलल कि उ एसपी रहे ।
(एसपी त निकै खतरा आएको छ । अस्ती हाम्रो गाउँमा गम्छा बाँधेर आएको थियो । उता (पारी) बाट कति र कस्तो-कस्तो सामान आउँछ ? प्रहरीले रोक्छ किन रोक्दैन ? प्रहरीले कस्तो काम गरिरहेको छ ? जनतालाई दुख दिएको छ कि सहयोग गरेको छ ? अरे यी सबै विषयमा विस्तारै विस्तारै घुमाएर सोध्दै थियो भन्ने सुनेको हो । म त त्यहाँ थिएन । तर, ज–जसले सबै भनिरहेका थिए, उनीहरुलाई पनि थाहा भएन किन त्यो एसपी हो भनेर । एकदमै देहाती बनेर अन्जान जसरी सोधिरहेको थियो । पछि पो सबैले थाहा भयो कि त्यो एसपी थियो भनेर ।)
Advertisement

Advertisement
Advertisement

व्यक्ति २ : तब्बे हमरे गौवाँसे आजकल रतीया के मोटरसाइकल (तस्करी) नाई निकरत बा । (त्यही भए मेरो गाउँबाट आजकल राती मोटरसाइकलहरु निस्किएको छैन ।
सोमबार दिउँसो स्थानीय बोलीचाली भाषामा दुई जना सर्वसाधरणहरुबीच जिल्ला प्रहरी कार्यालय रुपन्देही अगाडीको चिया–खाजा पसलमा भएको संवादको जस्ताको तस्तै केही अंश हो यो । उनीहरुसँगै टेबलमा बसेका थप एक जना व्यक्ति सुनिरहेका मात्र थिए ।
करिब अढाई महिना अघि जिल्लाको कमाण्ड सम्हालेका रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्री फरक ढंगले जिल्लामा शान्ति–सुरक्षाको अवस्था, अपराध अनुसन्धान, प्रहरीको काम, कारवाही लगायतको विषयमा जनस्तरमा पुगेर बुझ्ने गरेका छन्।
प्रायः साँझपख गम्छा बाँधेर मोटरसाइकलमा निस्किने उनी जिल्लाको विभिन्न गाउँहरुमा पुग्दै सर्वसाधरणको रुपमा स्थानीयहरुसँग भेटघाट गर्ने गरेको बुझिएको छ । साँझको समयमा भेष बदिलिएर गाउँहरुमा पुग्दा स्थानीयले पनि एसपी दर्जा नै आएको भन्ने मेसो नपाउने गरेको सीमावर्ती क्षेत्रका प्रहरी यूनिटका प्रहरीहरु बताउँछन् । जसकारण उनले आवश्यक सूचना सहजै संकलन गर्दछन् ।
हालै एक अन्र्तवार्तामा पनि एसपी क्षेत्रीले आफु सादा पोसाकमा गाउँगाउँमा जाने गरेको स्विकार गरेका छन् । उनले भनेका छन्– ‘प्रहरीको विभिन्न रणनितीहरु हुन्छ । समय परिस्थित अनुसार तालुकको कार्यालय के गर्दैछ ? भनेर उनीहरुलाई हौसला दिन र जिल्ला प्रहरी कार्यालय उनीहरुको साथमा छ र म पनि उनीहरुको साथमा छु भनेर पार्न बेलाबेलामा विभिन्न तरिकाले हिड्ने गरिन्छ ।’
०७० सालमा इन्सपेक्टर हुँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा अनुसन्धान अधिकृतको रुपमा कार्य गरिसकेको क्षेत्री यहाँको कार्यक्षेत्र/अवस्थाबारे जानकार छन् ।
‘गम्छा बाँधेर, कुर्ता लगाएर कुन बेला एक्लै हाम्रो एरियामा एसपी सा’ब आइपुग्नुहुन्छ थाहै हुँदैन’, सीमा क्षेत्रका एक चौकीका इन्चार्जले भने, ‘अहिले त कसैले पारीबाट केही निछराओस् भन्नेमै छौं । दिउँसोको साथै राति पनि खटिएका छौं । अहिले मासिक लाइन लिएर तस्करी नै गराउने जिल्लामा सायदै कोही प्रहरी होला । यदि होला भने ठुलै आँट गरेको भन्नुपर्छ ।’
उनले थपे–‘एक हिसाबले यो सही पनि जस्तो लाग्छ । फौजमा कमाण्डरको कडाई हुनुपर्छ । कमाण्डर नै लुते निस्कियो भने त्यो फौजको कुनै अर्थ हुँदैन ।’
हाल जिल्लाका सीमानाकाहरुमा प्रहरीले कडाई गरेको छ । ठुला तस्करी ठप्प छ । खुल्ला सीमाका कारण प्रहरीलाई छल्दै लुकिछिपि गर्ने ‘झोलेपोके तस्करी’ नियन्त्रणमा समेत प्रहरी लागेको देखिएको छ ।
एसपी क्षेत्री आएको पछिल्लो दुई महिना (जेठ–असार) मा मात्रै ५ करोड ३६ लाख ६० हजार बढी मूल्य बराबरको भन्सार छलेर अवैध रुपमा भित्राइएको विभिन्न सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालयले रुपन्देहीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
मातहतका युनिटका इन्चार्जहरुको विश्वासका साथै उनीहरुले गर्ने कार्यसम्पादनको स्थलगत ‘मोनिटरिङ’ पनि गर्नुपर्ने उनी बताउँछन् । अन्र्तवार्तामा उनले भनेका छन्–‘विश्वास गर्नु भनेको उनीहरु (इन्चार्ज) ले जे–जे भने सबै कुरालाई स्विकारदिने होइन कि आफुले प्रत्यक्ष रुपमा हेर्नु पनि पर्छ र त्यहाँका स्थानीयले के भन्दैछन् ? कमाण्डर ठिक छ/छैन ? उनीहरुले के गरिरहेका छन् भन्ने कुराको जानकारी लिनका लागि पनि हामी जानुपर्छ ।’
पछिल्लो समयमा साना तस्करी नियन्त्रणका साथै तस्करीमा संग्लन व्यक्तिहरुलाई पनि रुपन्देही प्रहरीले पक्राउ गरिरहेको छ । प्रहरीका अनुसार पछिल्लो दुई महिनामा मात्रै तस्करीका सामग्रीसहित ७६ जनालाई पक्राउ गरिएको छ ।
‘नाकाहरुमा यति कडाई छ कि पहिला जुन चौकीमा इन्चार्ज जानका लागि तछाँडमछाँड हुन्थ्यो, अहिले त्यहाँ खासै कोही जान खोजेका छैनन्’, एक प्रहरी अधिकृत भन्छन्, ‘एसपी सा’ब आफै गाउँगाउँ हिड्दै हुनुहुन्छ । इन्चार्ज गएपछि कमाउन मन लाग्छ नै । कतैबाट रकम लिएको थाहा पाए कारवाहीमा पर्ने भएकाले धेरैले इच्छा देखाएका छैनन् ।’
प्रहरी आचारण विपरीत कार्य गरिरहेको गुनासो प्राप्त भएपछि एसपी क्षेत्रीले पछिल्लो समयमा प्रहरी चौकी मैनिहवा, पिपरहवा, गल्लमण्डी, मेउडिहवा, कालिदह, रमवापुर, चनौली बगाहा लगायतका इन्चार्जलाई कारवाही स्वरुप जिल्ला तानिसकेका छन् ।
जिल्लाका यी आर्कषक मध्यका चौकीहरु हुन्। जहाँ इन्चार्ज जानका लागि तछाँडमछाँड हुने गर्दछ । यी चौकीका इन्चार्जहरु तानिएपछि राम्रो कमाई त हुने तर रकम लिएको थाहा भए कारवाहीमा पर्न सकिने भएकोले अधिकृतहरुबीच यी चौकीहरुमा जान तछाँडमछाँड नभएको बुझिएको छ । जसकारण नियमअनुसार अधिकृतहरुलाई चौकीहरुमा इन्चार्ज पठाइएको छ ।
‘यी चौकीहरुमा जानका लागि पहिला जस्तो अहिले सिफारिस आएन’,जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रशासन शाखाका एक कर्मचारीले भने,‘गएका इन्चार्जहरुले पनि राम्रो कार्यसम्पादन गरिरहेको देखिएको छ । अब उनीहरुमा त्यसलाई जिल्ला कमाण्डरको साथ भन्नुस, डर भन्नुस् वा जे सुकै भन्नुस । रिजल्ट देखिदैछ ।’
पछिल्लो समय जिल्लाका विभिन्न प्रहरी युनिटले दिनँहु लाखौं मूल्य बराबरको भारतबाट अवैध रुपमा भित्राइएको विभिन्न सामग्री, संग्लन व्यक्ति र सवारी साधन धमाधम नियन्त्रणमा लिदै आएका छन्।

