


काठमाडौं,७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई गाली गर्ने फेसन बनेको बताएका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदको प्रश्नमा उनले प्रधानमन्त्रीलाई आलोचना गर्ने खालको फेसन बनाएको भन्दै हल्ला गरेकै भरमा कसैलाई छानबिन नहुने पनि स्पष्ट पारे।

उनले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरुलाई पनि संलग्न हुन नदिने जिकिर पनि गरे। आर्थिक अनियमितता देखिएमा कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढ्ने भन्दै उनले भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमितामा रहेको पनि बताए।
प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी हामी सबै दृढ र प्रतिबद्ध छौँ। केही मान्छेहरूको फेसन हुने गर्छ प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाई नहुने। तिनीहरू कहिले पशुपतिमा पित्तल चढायो भनेर हल्ला गर्छन्। कहीँ कतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानून बमोजिम कारबाही भइरहेको छ र हुनेछ।’
उनले भ्रष्टाचारमा संलग्नहरूमाथि सरकार असहिष्णुका साथ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताए।

