


काठमाडौं,७ साउन। नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। यो लोगोले नेपालको गौरवशाली इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई समेटेको टिमले जनाएको छ।
नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ईसापूर्व २४९ मा स्थापित ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झण्डाको रातो रङ, तथा चन्द्र र सूर्यको प्रतीक जस्ता नेपाली पहिचान झल्काउने महत्त्वपूर्ण तत्त्वहरु समावेश गरिएका छन्। लोगोमा प्रयोग गरिएको सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गर्दछ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबहादुर जिसीले यो लोगो केवल एउटा ग्राफिक चिह्न मात्र नभई यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने बताउनुभयो। उनले भने, बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ। लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ।
२०८१ सालमा स्थापित लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगमा पूर्ण ऊर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार रहेको जनाएको छ। टिमले नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेको छ।

