


काठमाडौं, ७ साउन। नेपाल प्रहरीले अबदेखि कुनै पनि घटना वा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो र भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरुमा परिपत्र गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार पत्रकार सम्मेलन वा अन्य कुनै पनि माध्यमबाट सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्वीर तथा भिडियो सार्वजनिक नगर्न र सञ्चार माध्यमलाई उपलब्ध नगराउन भन्दै देशैभरका प्रहरी युनिटहरुलाई परिपत्र पठाइएको छ।

गत असारमा महान्यायाधिवक्ताको कार्यालयले आरोपीको तस्बिर र भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशन आधारमा कार्यान्वयनमा ल्याउन मातहतका सबै युनिटहरुमा परिपत्र गरिएको उनले बताए।
यद्यपि कुनै ठूलो जघन्य अपराधमा संलग्न रहेको र त्यस्ता व्यक्तिको तस्वीर, भिडियो सार्वजनिक नगर्दा समाजलाई थप क्षति तथा हानि हुने अवस्थामा भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृति लिएर सार्वजनिक गर्न सकिने पनि उल्लेख छ।

