


भैरहवा,८ साउन। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा कडाई गरिएपछि भारतको नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली नागरिकहरुको उद्दार गरेर भैरहवा ल्याइएको छ। उद्दार गरिएका सबै महिला हुन्।
एनओसी विना विदेश जान लागेका महिलाहरुलाई दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा उद्दार गरेर स्थलमार्ग हुँदै बिहीवार भैरहवा ल्याइएको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार दिल्लीस्थित नेपाली राजदूतावासका एसएसपी प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टोलीले उद्दार गरिएका महिलाहरुलाई बेलहिया नाका हुँदै भैरहवा ल्याएर प्रशासनको जिम्मा लगाएको छ।
गृहमन्त्री रमेश लेखकले घटनाका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। घटनाको छानबिन मानव बेचबिखन अनुसन्धान ब्यूरोले गर्ने बताइएको छ।

