


भैरहवा, ११ साउन। रुपन्देहीमा तीव्र गतिमा सवारी साधन चलाउने चालक/धनीहरुलाई कारवाही गरिएको छ ।
गत आर्थिक वर्ष ०८१/०८२ मा जिल्ला (बुटवल क्षेत्र बाहेक) मा तीव्र गतिमा सवारीसाधन चलाउने ६ हजार १ सय १४ चालक/धनीहरुलाई जरिवाना कारवाही गरिएको छ। जसबाट तीन लाख १५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

वर्षमा ६ करोड बढी राजस्व
त्यस्तै एक वर्षमा सवारी नियम विपरित सवारी चलाउने ५० हजार ४ सय ४१ जना चालक तथा धनीहरुलाई कारवाही गरिएको छ। जसबाट ६ करोड ८ लाख ४९ हजार बढी रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। कार्यालयका अनुसार २५८ सवारीसाधनलाई कारवाहीका लागि यातायात कार्यालयमा पठाइएको छ ।
तीव्र गति लगायतका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सचेतनामूलक बोर्डहरु राख्नुका साथै सचेतनामूलक कक्षाहरु संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एवं प्रहरी निरीक्षक रन्जु केसीले बताइन्।

