
काठमाडौं,१२ साउन। नेपाल प्रहरीको एसएसपी बढुवा सिफारिस विरुद्ध उजुरी परेको छ। गत साउन ५ गते बढुवा समितिले ११ जना एसपीहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
मेरिट लिस्टको पहिलो नम्बरमा रहेका एसपी बिमल बस्नेतलाई बढुवामा छुटाइएपछि बढुवा उपर उजुरी सुन्ने समितिमा उनले वारेसमार्फत उजुरी दिएको बुझिएको छ। उनी देशबाहिर रहेकोले वारेसमार्फत उजुरी दिएका हुन्। उजुरी परेसँगै बढुवा प्रक्रिया रोकिएको छ।
Advertisement

Advertisement
Advertisement

२०७७ मा एसपी बस्नेत कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा अनियमिततामा संलग्न रहेकाले निलम्बनमा पर्नुका साथ ५ वर्ष बढुवा रोक्काको कारबाही भएको थियो। बढुवा रोक्काको अवधि सकिएपछि पनि छुटाइएको भन्दै उनले उजुरी दिएका हुन्। तर, कारवाहीको समय सीमा अझै पुरा नभएको हुनाले उनलाई सिफारिस नगरिएको केही अधिकृतको दावी छ।
बस्नेत ०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर नेपाल प्रहरीमा आएका अधिकृत हुन्। प्रहरी नियमावलीअनुसार उजुरी उपर लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने उजुरी सुन्ने समितिले यसमा सुनुवाइ गर्नेछ। जसमा मुख्यसचिव र कानुनसचिव सदस्य रहेका छन्। नम्बर गणना गर्दा नै नमिलेको अवस्थामा बाहेक समितिलाई सिफारिस उल्टाउन अधिकार छैन।
बढुवा समितिले तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधी ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाललाई बढुवा सिफारिस गरेको थियो। एसपी बस्नेतले आफूलाई अन्यायपूर्ण तवरले छुटाइएको जिकिर गरेका छन् ।

