
भैरहवा,१३ साउन। के तपाईले घर/पसलको फोहोर सडकमा फाल्ने गर्नुहुन्छ ? यदि फाल्ने गर्नुहुन्छ भने अब बन्द गर्नुहोला। किनभने रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले सडकमा फोहोर फाल्ने उपर कारवाही सुरु गरेको छ। साथै, सडकमा फोहोर फाल्ने क्रमको अवस्थाको भीडियो बनाएर सामाजिक संजाल मार्फत सार्वजनिक समेत गर्न थालिएको छ।
सरसफाई तथा फोहोर उठाउन नियमित रुपमा टोल–टोलमा ट्याक्टर पुग्दा समेत स्थानीयहरुले सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकेपछि पछिल्लो समय पालिकाले कडाई गरेको हो ।
नगरपालिकाले फोहोरको प्रकृति अनुसार जथाभावी फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) अनुसार ५० हजारसम्म जरिवाना कारवाही गर्न सक्ने व्यवस्था छ।
Advertisement

Advertisement
Advertisement

जसअनुसार पछिल्लो दुई महिनामा जथाभावी फोहोर फाल्नेहरुलाई ५ हजार देखि १५ हजार रुपैयाँसम्म जरिवाना कारवाही गरिएको सिद्धार्थनगर नगरपालिका कार्यालयको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख यादव सापकोटाले बताए।
त्यस्तै सडकमा सर्वसाधरणले जथाभावी फोहोर फाल्ने क्रमको अवस्थाको भीडियो खिचेर १८ जनाले फालेको फोहोर संकलन गरी फिर्ता पठाइएको नगरपालिकाले जनाएको छ । सडकमा फोहोर फाल्नबाट रोक्नका लागि पालिकाले नगर प्रहरी समेत परिचालन गरेको छ।
त्यस्तै सुन्दर र हरित पालिकाको रुपमा विकास गर्नका लागि सडक क्षेत्रमा लगाइएको विरुवाको फुल टिप्ने, हाँगा भाँच्ने सर्वसाधरणमाथी पनि पालिकाले निगरानी बढाएको छ।
‘हामी नगरलाई सफा, सुन्दर, हरभरा बनाउनमा लागेका छौं। जस अनुसार नगरको सुन्दरताका लागि सडक क्षेत्रहरुमा विभिन्न प्रजातिको फुल/रुखहरु लगाइएको छ। फोहोर संकलनका लागि दैनिक गाडी र कर्मचारी परिचालन गरेका छौं’, सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले भने,‘तर, नगरवासीले सडकमा फोहोर फाल्ने, फुल टिप्ने, रुखका हाँगा नै भाच्ने जस्ता काम गरिरहेका छन् । जुन राम्रो होइन् । नगरवासी सचेत हुनुपर्छ।’
उनले आफुहरुको एकल प्रयास मात्र नगरलाई सफा, सुन्दर, हराभरा बनाउन नसकिने भन्दै नगरवासीको सहयोग समेत आवश्यक रहेको बताए। नगरलाई हरियाली र वातावरण मैत्री बनाउनका लागि पालिकाले प्रत्येक वर्षमा विभिन्न प्रजातीका फलफुलका विरुवाहरु समेत अनुदानमा उपलब्ध गराउँदै आएको छ।
यसअघि पनि नगरपालिकाले सडक क्षेत्रमा लगाएको फुल-विरुवा रातिको समयमा उखालेर फालिएको घटना बाहिरिएको थियो ।

