


स्याङ्जा, १४ साउन । स्याङ्जा प्रहरीले २०५० सालमा विवाह समारोहमा अपराध गरेर फरार रहेका एक जनालाई प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७ तल्लोबिरौटाटोलका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, पक्राउ परेका प्रतिवादीले २०५० साल फागुन मा तत्कालीन स्याङ्जा जिल्लाको रत्नपुर गा.वि.स–२, धुर्कोट (हाल चापाकोट नगरपालिका–२) मा आयोजित विवाह समारोहका स्थानीय ६० वर्षीय हस्ते विकमाथि कुटपिट गरेका थिए। उपचारको क्रममा विकको मृत्यु भएपछि प्रहरीले सोतीमगरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो।
सर्वोच्च अदालतले ०५९ असोज ७ गते घटनामा संग्लन सोतीमगरलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो। त्यसयता उनी फरार थिए ।
फरार रहेका सोतीमगरलाई कास्की जिल्लाबाट पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी एवं सूचना अधिकारी प्रसन्नराज चौधरीले बताए ।

