


भैरहवा, १४ साउन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टीको केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र) लाई निष्काशन गरेको छ ।
पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने तथा पदीय आचरण विपरीत कार्य गरेको भन्दै गुप्तालाई पार्टीबाट निष्काशन गरिएको हो ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रथम संशोधित विधान २०८०, धारा ४८ को उपधारा (३( र (७) बमोजिम प्रसान्त गुप्ता (महेन्द्र) ले पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने तथा पदीय आचरण विपरित कार्य गरेकोले निजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको छ।’
पार्टीबाट निष्काशन गरिएका गुप्ताले पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र लुम्बिनी प्रदेशमा लोसपाबाट हालै युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका सन्तोष कुमार पाण्डेयको नाम नलिई केही दिन अघि सामाजिक संजालमार्फत समेत विरोध जनाएका छन्।
उनले पार्टीबाट पाण्डेय पटक पटक मन्त्री भएकोले यस पटक संसदीय दलका उपनेता एवं केन्द्रीय सदस्य कन्हैयाँ बनिया मन्त्री हुनुपर्ने बताउँदै आएका थिए। पार्टीको ‘किचेन मेम्बर’ रहेका शुक्ल रुपन्देही–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित छन् भने बनियाँ रुपन्देही–४ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित छन्।
त्यस्तै मन्त्री बनेका पाण्डे रुपन्देही–३ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित छन्। शुक्लले बनियाँलाई छाडेर पाण्डेयलाई मन्त्री बनाउन भुमिका खेलेको भन्दै उनी निर्वाचित क्षेत्रमा स्थानीयहरुले असन्तुष्टि जनाएका छन्।जसको शुक्ललाई ०८४ मा उम्मेदवार बनेको अवस्थामा असर पर्ने सम्भावना देखिएको सरोकारवालाहरुले बताएका छन्।

