


मकवानपुर, १७ साउन । मकवानपुर प्रहरीले मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार विगतदेखि ससुराली बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घरमा कोही नभएको बेला ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तिको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ।

उनका अनुसार पक्राउ परेका श्रीमानले श्रीमती पक्षघातको बिरामी भएर हिड्डुल गर्न नसक्ने अवस्थामा रहेकोले आफूले तनावमा श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । साथै, प्रहरी सोधपुछमा उनले श्रीमतीको हत्या पश्चात आफू झुण्डिर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि प्रहरी सम्पर्कमा आएको बताएका छन् ।
दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

