


भैरहवा, २१ साउन। लुम्बिनी विकास कोषका कर्मचारीहरु आन्दोलनमा उत्रिदाँ कोषका कामहरु ठप्प भएका छन्। कोष कर्मचारी युनियनले ४ बुँदे मागका साथ तालाबन्दी गरेर कोष कार्यालयको मुख्य गेटमा धर्नामा बसेका छन्।
कर्मचारीहरुले माग सम्बोधनका लागि साउन ५ गते ज्ञापन पत्र बुझाएर विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । साउन ८ र ९ गते हातमा कालोपट्टि बाँधेर काम गरेपछि पनि माग पूरा नहुँदा साउन १२ देखि कामकाज ठप्प पारी कार्यालयमा तालाबन्दी गरेर धर्नामा बसेका हुन्।

कर्मचारी युनियनले सञ्चित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनुपर्ने, कर्मचारी विनियमावली–०७९ संशोधन गरेर उमेर हद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग राखेका छन्।
यसका साथै दरबन्दी चाँडै स्वीकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनुपर्ने र विनियमावली ०७९ अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नुपर्ने समेत उनीहरुको माग छ।
युनियनका अब्दुल ओफा मुसलमानले दुई हप्ता बढी देखि कर्मचारी आन्दोलनमा रहेपनि वार्ताका लागि पदाधिकारीहरु नआएको बताए। उनले कर्मचारीहरुको माग सम्बोधन नगरिए अगामी दिनमा संग्राहालय, मुख्यप्रवेशद्धार र टिकट काउन्टरमा तालाबन्दी गरी थप सशक्त आन्दोलनमा उत्रिने बताए ।
‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं’,उनले क्लिक लुम्बिनीसँग भने, ‘तर, पदाधिकारीहरु वार्ताका लागि चासो देखाएका छैनन् । अझै पनि वेवास्ता भए थप सशक्त रुपमा हामी अघि बढ्छौं।’
लुम्बिनीमा आन्दोलन जारी रहेपनि कोषका पदाधिकारीहरु भने काठमाडौंमा छन्। वैशाख २९ गते बुद्ध जयन्ती मनाएर काठमाडौं गएका कोषका उपाध्यक्ष ल्हारक्याल लामा उतै छन्।
कोषाध्यक्ष ढुण्डिराज भट्टराई पनि वैशाख ३० गतेदेखि उपचारका लागि काठमाडौंमै छन्। कोषका सदस्य सचिवले साउन ५ गते राजीनामा दिइसकेका छन्। अन्य उच्च तहका कर्मचारी पनि लुम्बिनीमा छैनन्।
लुम्बिनी विकास कोषका सूचना अधिकारी डा.हरिध्वज राईले कर्मचारीहरुको माग कोषले भन्दा मन्त्रालयले सम्बोधन गर्नसक्ने बताए। उनका अनुसार मन्त्रालयबाट सहसचिवको नेतृत्वमा कर्मचारीका मागका विषयमा छलफल गर्न जाने तयारी भइरहेको छ।
लुम्बिनीको मायादेवी मन्दिर लगायतमा पूजाको कार्यक्रम भने चलिरहेको छ।

