


भैरहवा, २३ साउन। खाडी मुलुक पठाउने भन्दै दिल्लीको होटलमा लगेर राखिएका ४० जना नेपाली नागरिकहरुको उद्दार गरिएको छ । उद्दार गरिएका २० देखि ४० वर्ष उमेर समूहका सबै महिला हुन्।
‘किन इन्डिया’ ले दिल्लीस्थित नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा दिल्लीको विमानस्थल नजिक रहेको तीन वटा होटलबाट उनीहरुको उद्दार गरेको हो । बिहीवार उनीहरुको उद्दार गरेर बेलहिया नाका हुँदै नेपाल ल्याइएको छ।

किन इन्डियाका निर्देशक नविन जोशीका अनुसार खाडी मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाएर नेपालको विभिन्न २३ जिल्लाबाट उनीहरुलाई दिल्ली पुर्याइएको थियो।
घरेलु कामदारका रुपमा कुवेत, साउदी अरेयिबा, ओमान, र दुबई पठाइदिने भन्दै ४० जना महिलाहरुलाई १४ दिन देखि ४ महिनाको अवधिसम्म होटलमा नजरबन्द गरेर राखिएको विषयमा सूचना प्राप्त भएपछि उनीहरुको उद्दार गरेर स्वदेश ल्याइएको निर्देशक जोशीले बताए।
उनका अनुसार ४० जना महिलाहरुलाई ३/४ जनाको समूह बनाएर विभिन्न मिति र स्थलमार्गबाट दिल्ली पुर्याएर होटलमा राखिएको थियो।
नेपाल सरकारले घरेलु कामदारको रुपमा खाडी मुलुकहरुमा जान प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएपछि मानव तस्कर र दलालहरुले अवैधानिक रुपमा भिजिट भिसामा उनीहरुलाई खाडी मुलुकमा पुर्याउन थालेका थिए।
तर, पछिल्लो समय भिजिट भिसामा कडाई भएपछि मानव तस्करहरुले दिल्ली रुट प्रयोग गर्न थालेको देखिएको छ । दिल्लीबाट पनि विदेशिनका लागि नेपाली राजदूतावासबाट एनओसी आवश्यक पर्छ । जुन कुनै पनि महिलाहरुसँग थिएन । यस अघि पनि दिल्लीबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना महिलाहरुको उद्दार गरेर नेपाल ल्याइएको थियो।
‘नेपालमा भिजिट भिसामा कडाइ गरिएपछि मानव तस्करहरुले आर्कषक रोजगारीको प्रलोभन देखाएर आवश्यक कागजात विना यहाँबाट महिलाहरुलाई दिल्ली लगेर राखिएको थियो’,उनले भने, कतिपयसँग राहदानी समेत थिएन। विदेशिनका लागि आवश्यक एनओसी कागज कसैसँग थिएन । यो मानव तस्करीसँग जोडिएको विषय देखिएको छ ।’
महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा आवश्यक प्रक्रिया पुरा गरि बिहीवार राती नै काठमाडौंस्थित नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा लगिएको छ।
उद्धार गरिएका महिलाहरुमा मकवानपुर, दाङ, सुनसरी, मोरङ, नुवाकोट, सिन्धुली, रुपन्देही, अर्घाखाँची, तनहुँ, धनुषा, बाँके, सल्यान, रौतहट, काभ्रेपलाञ्चोक, धादिङ, कालिकोट, सप्तरी, ताप्लेजुङ, उदयपुर, गोरखा, सोलुखुम्बु, नवलपरासी र पर्सा जिल्लाको रहेका छन्।

