


भैरहवा, २९ साउन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका पूर्व केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले पार्टीको नाममा लोकतान्त्रिक भएपनि व्यवहारमा लोकतान्त्रिक नभएको र पार्टी विभेदकारी रहेको टिप्पणी गरेका छन् ।
बिहीवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर उनले प्रदेशमा लोकतान्त्रिक रुपमा मन्त्री चयन गर्नुपर्ने र नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग राख्दा स्पष्टीकरणको मौकासमेत नदिएर पार्टीबाट निष्कासन गरिएको बताए ।

लोकतान्त्रिक पद्दति अनुरुप नै फरक मत प्रकट गर्दा पार्टीबाट अलोकतान्त्रिक व्यवहार भएको उनको भनाई छ ।
‘एउटा युवा (मा.कन्हैया बनिया) लाई यसपटक मौका दिनुपर्छ भनेर आवाज उठाएको हुँ, आवाज उठाउँदा कुनै स्पष्टीकरण नसोधी मलाई पार्टीबाट निष्काशन गरियो’, उनले प्रश्न गर्दै भने, ‘एक–दुई नेताले भन्दैमा पार्टीले प्रक्रिया विपरीत कारवाही गर्नु कहाँसम्मको न्याय हो ?’
केही नेताहरुले पार्टीलाई प्राइभेट कम्पनीको रुपमा ढाल्दै लगेको र मधेश आन्दोलनको भावना तथा आन्दोलनकारीको योगदानलाई बिर्सिएको उनको आरोप छ ।
‘सत्ता केन्द्रीत राजनीति हावी हुँदै गएको छ । पुस्तान्तरण गर्ने नयाँ पिढीलाई पालो दिने कुराहरु नारामा मात्र सिमिति रह्यो,’ उनले भने । एउटै व्यक्तिलाई चार पटक कसको दवावमा प्रदेशको मन्त्री बनाइएको प्रश्न गर्दै उनले तानाशाही प्रवृत्तिको निरन्तर विरोध गरिरहने बताए।
देश र मधेशको हितका लागि आफु कुनै न कुनै प्रक्रिया र पद्दतिबाट पुनः समाजसेवामा आउने उनको भनाइ छ। उनले रुपन्देहीमा १५३ जनाले लोसपाबाट सामूहिक राजीनामा दिने बताए।

