
भैरहवा,५ भदौ। भैरहवाका सबैभन्दा पुराना व्यवसायी मध्यका एक एवं सामाजिक व्यक्तित्व स्व.प्रल्हाद कुमार अग्रवालको प्रेरणादायी जीवनीमा आधारित स्मृति ग्रन्थको विमोचन गरिएको छ ।
बिहीवार भैरहवामा आयोजित एक कार्यक्रमका कार्यक्रमका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेशकुमार अग्रवाल, प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, विशिष्ट अतिथी नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले स्व.प्रल्हादकुमार अग्रवालको जीवनयात्रा समेटिएको ‘सरलताका आदर्शः प्रल्हाद कुमार अग्रवाल’ स्मृति ग्रन्थ विमोचन गरेका हुन् ।
Advertisement

Advertisement
Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगपति तथा समाजसेवी स्व.प्रल्हादकुमार अग्रवालको स्मृति ग्रन्थ व्यवसायीहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे।
उनले प्रत्येक उद्योगी व्यवसायीले उक्त ग्रन्थ अध्ययन गर्नुपर्नेमा जोड दिए। उनले भने-‘प्रल्हादकुमार अग्रवाल र उनको परिवार तथा सिंगो व्यवसायी समुदायप्रति प्रदेश सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। बुवा र हजुरबुवाले थालनी गरेका कार्यलाई अझ विकसित रुपमा अगाडि बढाउन सफलता प्राप्त होस् भन्ने कामना गर्दछु। अधुरा सपनाहरु पूरा गर्न यहाँहरु अगाडि बढ्नुहोस्। सरकार सदैव साथमा रहनेछ ।’
भैरहवा औद्योगिक क्षेत्रलाई औद्योगिक केन्द्रका रुपमा स्थापित गर्न अग्रवालले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले उनको जीवनपद्धति यथार्थमै सरलताको आदर्श भएको बताए। उनले देशको समृद्धि कृषि, पर्यटन, जलस्रोत, ऊर्जा र औद्योगिक विकासमा आधारित हुने स्पष्ट दृष्टिकोण राख्दै राज्य, निजी क्षेत्र र सरोकारवालाको साझा प्रयास आवश्यक हुने उल्लेख गरे।
कार्यक्रममा प्रकाशित स्मृति ग्रन्थले भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ। मुख्यमन्त्री आचार्यले स्व. प्रल्हादकुमार अग्रवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै ग्रन्थ प्रकाशनमा जोडिएका सबै पक्ष प्रती आभार व्यक्त गरे।
विमोचन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले स्मृति ग्रन्थ ऐतिहासिक दस्तावेज भएकाले भैरहवाका अग्रज र नयाँ पुस्ताका लागि ऐतिहासिक हुने बताए । उनले प्रकाशित स्मृति ग्रन्थ हिजोको भैरहवा र आजको भैरहवाका लागि ईतिहास भएको भन्दै आज भैरहवाका लागि पनि ऐतिहासिक दिन बनेको बताए ।

विमोचन कार्यक्रमका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले स्व.वुवा प्रल्हादकुमार अग्रवालले देखाएका मार्गदर्शन, परिवारमा छाडेर गएको स्मृति, सिकाएका समाजप्रतिका उत्तरदायित्वहरुलाई स्मरण गर्दै आज आफ्नो परिवार यहाँसम्म आइपुगेका बताए ।
उनले स्व.वुवाले आफुलाई समेत जानकारी नदिएर गरेको सतर्कमबारे उल्लेख गर्दै नयाँ पुस्ताका लागि पनि प्रकाशित ग्रन्थले मद्दत पुग्ने विश्वास व्यक्त गरे । ९० वर्ष भैरहवामा बसाईसहितको पारिवारिक व्यवसायिक ईतिहासबारे पनि उनले उल्लेख गरे । उनले आफ्नो श्रीमती बेनु अग्रवाल, छोरा सोमेश अग्रवाल, बुहारी श्रद्धा अग्रवाल र अन्तरवार्ताकार रामप्रसाद भट्टराईको सहयोगमा स्व.वुवाको स्मृति ग्रन्थ तयार भएको जनाए ।
विमोचन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई लगायतले स्व.प्रल्हादकुमार अग्रवालको सरलता, मिहेनत, सफलता, इमान्दारी लगायतका विषयमा चर्चा गरेका थिए।

