


काठमाडौं,९ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सरकारको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको आलोचना गरेका छन्।
सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गर्नु निर्णयलाई उनले जनतामाथिको अर्को अन्याय र जनभावना विपरीतको कदमको संज्ञा दिएका छन्।

‘तयारी नै नगरी बलजफ्ती रुपमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय जनतामाथि गरिएको अर्को अन्याय हो,’उनले एक्समा लेखेका छन्, ‘नागरिकलाई लाइसेन्स वितरण गर्न नसकेको सरकारले अब पुनः पूर्वाधार, प्राविधिक तयारी र नेपाली भाषा-लिपिको संवेदनशीलता नहेरी जबरजस्ती निर्णय लागू गर्नु जनभावना विपरीत कदम हो।’
सरकारले आगामी असोजदेखि सवारी साधनहरुमा अनिर्वाय रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको छ। जस अनुसार असोज एक गतेदेखि यातायात व्यवस्था कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ।

