


काठमाडौं, १२ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट भेरी नगरपालिका वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता भएको निश्र्कष निकाल्दै ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले पालिकाको वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा ६ जना कर्मचारी र ठेकेदार कम्पनीका दुईजना गरी आठजनाविरुद्ध बिहीवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगले भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापा, ठेकेदार गंगा कुमारी खड्का र चित्रबहादुर बोहराविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले उनीहरुविरुद्ध ३६ लाख २० हजार ५७८ रुपैयाँ विगो माग गर्दै मुद्दा दायर गरेको हो। उनीहरुले आर्थिक वर्ष २०८०र०८१ मा भेरी नगरपालिकाको वडा नम्बर ६,९ र १० को वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुन विपरीतको कार्य गरी अनियमितता गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारको ठहर छ।

