


अछाम, १३ भदौ। महिनावारी भएको बेला त्रिपाल टाँगेर सुतेका अवस्थामा पहिरो खस्दा ढुंगा लागेर दुई जनाको मृत्यु भएको छ ।
अछामको पंचदेवल विनायक नगरपालिका-८ बारलामा पहिरो खस्दा ढुंगा लागेर सोही स्थानको ३५ वर्षिया निम खनाल र मंगलसेन नगरपालिका-६ की ७ वर्षिया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सँगै सुतेकी कविताकी आमा रत्ना भण्डारी घाइते हुँदा उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको छ ।
दुवै जना महिनावारी भएको समयमा घरदेखि टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतेको अवस्थामा घटना भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले बताए। गाउँ माथिको भिरबाट ढुंगा त्रिपालमाथि खसेको शाहीले बताए।
घटनाका अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेक बहादुर देउवाको नेतृत्वमा प्रहरी टोली खटाइएको छ।
गोठहरु भत्काइए पनि महिनावारीको समयमा पाल टाँगेर, डोकोमा त कोही शौचालयमा समेत सुत्ने अवस्थाको अझै अन्त्य नभएको वडाअध्यक्ष शाही बताउँछन् ।

